चिल्ड्रेन पार्क आन्तरिक पर्यटकको रोजाइमा
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    चिल्ड्रेन पार्क आन्तरिक पर्यटकको रोजाइमा

    खबरपुञ्ज संवाददाता

    २२ कार्तिक २०८१, शुक्रबार

    दमाैली । तनहुँको भानु नगरपालिका–१३ सम्जुरस्थित चिल्ड्रेन पार्क आन्तरिक पर्यटकको रोजाइमा परेको छ । स्थानीय चण्डीमाइ युवा क्लवको सक्रियतामा गत वर्ष निर्माण गरिएको पार्क आन्तरिक पर्यटकको रोजाइमा परेको छ ।

    क्लवका अध्यक्ष अर्जुन बानियाँले यस ठाउँलाई पर्यटकीय गन्तव्यस्थल बनाउन युवाको सक्रियतामा पार्क निर्माण गरिएको जानकारी दिए । उनले भने, “यसलाई विशेषगरी टिकटक पार्कको रुपमा विकास गरिएको छ । गाउँमा पर्यटकीय स्थल बनाएर आन्तरिक पर्यटक भित्र्याउने मुख्य उद्धेश्य हो ।”

    बानियाँका अनुसार हाल दैनिक तीन सय भन्दा बढी आन्तरिक पाहुना यस ठाउँमा आउने गरेका छन् । “दसैंका बेला यहाँ रोटे पिङ हालेका थियौ । यसले पनि आन्तरिक पर्यटकलाई लोभ्याएको छ । नेपालको ३० फिट अग्लो झण्डा समेत राखेका छौ । विश्रामस्थल समेत बनाएका छौ । हरियाली डाँडापाखाको दृश्यले सर्वसाधारणलाई लोभ्याउँछ,” उनले भने ।

    ओझेलमा रहेको सम्जुर गाउँको प्रचारप्रसारका लागि यहाँ पार्क निर्माण गरिएको उनकाे भनाइ छ । ‘आफ्नो गाउँ आफै बनाऔं’ भन्ने अभियान अन्तर्गत गाउँका युवा र विदेशमा रहेका युवाको लगानीमा पार्क निर्माण गरिएको बानियाँले उल्लेख गरे । पार्क निर्माणका लागि भानु घर भई विदेशमा रहेकालाई आग्रह गरिएको र यसको निर्माणमा यहीँ रहेका युवाले श्रमदान गरेका थिए ।

    उनले भने, “गाउँलाई कसरी देश तथा विदेशमा चिनाउन सकिन्छ भनेर छलफल गर्दा पार्क निर्माणको अवधारणा आयो । अहिले यस ठाउँमा आन्तरिक पर्यटकको चहलपहल हुँदा खुसी लागेको छ ।” यस ठाउँको प्रबद्र्धनका लागि यहाँ थप पूर्वाधार निर्माण गर्ने सोच रहेको उनकाे भनाइ छ ।