बुढापाकाले पाउदुरे नाच संरक्षण गर्दै
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    बुढापाकाले पाउदुरे नाच संरक्षण गर्दै

    खबरपुञ्ज संवाददाता

    २४ कार्तिक २०८१, आईतवार

    दमौली । तनहुँको दमौली निवासी ओमबहादुर गुरुङ, टेकप्रसाद गुरुङ र इन्द्रध्वज गुरुङले मारुनी बनेर पाउदुरे नाच्दै आएका छन् । व्यास नगरपालिकास्थित तमु सुधार समाजमा आबद्ध उहाँहरू लामो समयदेखि पाउदुरे नाच संरक्षण अभियानमा जुटेका हुन् । समाजमा युवा नभएपछि बुढापाकाले पाउदुरे नाच संरक्षण गर्दै आएका हुन् ।   
      
    पाउदुरे नाचका लागि ख्यामबहादुर गुरुङ र चामबहादुर गुरुङले गुरुबाको भूमिका निभाउँदै आएका छन् । त्यस्तै हिरालाल गुरुङ, ओमराज गुरुङले मादलेको भूमिका निभाउँछन् ।   
      
    युवाहरू शिक्षा, रोजगारीको सिलसिलामा गाउँ बाहिर रहेकाले बुढापाकाले सांस्कृतिक पहिचान बोकेको नाच संरक्षण र प्रवर्द्धन गर्ने उद्देश्यले नाच्दै आएका समाजका अध्यक्ष मनबहादुर गुरुङले बताए । उनले भने, “पाउदुरे नाच लोप हुन नदिन युवा नभएपनि बुढापाका यसको संरक्षण अभियानमा जुटेका छौँ ।” पाउदुरे गुरुङ जातिको लोपोन्मुख नृत्य भएकाले यसको संरक्षण गर्नुपर्छ भनेर आफूहरू लागिपरेको गुरुङको भनाइ छ ।   
      
    पछिल्लो पुस्तालाई पाउदुरे नाच सिकाएर यसको संरक्षण र सम्वर्द्धन अभियानमा सहभागी गराउने योजना रहेको ओमबहादुर गुरुङले बताए । उनले भने, “पाउदुरे नाच गुरुङ जातिको प्रसिद्ध नाच भएकाले यसको संरक्षणमा हामीहरू जुटेका छौँ । गाउँमा भएका युवालाई नाच पुस्ता हस्तान्तरण गरी यसको संरक्षण र प्रवर्द्धन गर्ने योजना बनाएका छौँ ।”   
      
    तमु विद्यार्थी छोंज धिंको शनिबारदेखि दमौलीमा सुरु भएको बाह्रौ महाधिवेशन उद्घाटन समारोहमा उनीहरुले समूहले पाउदुरे नाच प्रस्तुत गरेको थियो । कार्यक्रममा सहभागीले नाच आकर्षित रहेको प्रतिक्रिया दिएका थिए ।   
      
    ओमबहादुरका अनुसार पाउदुरे नाचमा बिजबारे, मारुनी, मादले, गुरुलगायत व्यक्ति आवश्यक पर्दछ । “यो नाच पुरुषले गुन्यूचोली र गरगहना लगाएर महिलाजस्तै बनेर नाच्ने प्रचलन छ । छेउमा नाच्ने दुई पुरुषलाई मारुनी र बीचमा नाच्नेलाई बिजबारे भनिन्छ”, उनले भने ।   
      
    नाचका क्रममा बिजबारेको भावभङ्गी समातेर मारुनीले आफूलाई प्रस्तुत गर्नुपर्ने गुरुङ समुदायका अगुवा बताउँछन् । गीत गाउने मुख्य व्यक्तिलाई गुरुबा भनिन्छ । गुरुबाले गीत गाउने र लहरै बसेका तीन जना मादलेलगायत अन्यले पनि गीतलाई छोप्दै लय मिलाउने गर्दछन् । पाउदुरे नाच्दा चारै दिशाका देवीदेवतालाई सम्झने चलन रहेको ओमबहादुरले जानकारी दिए ।