


दमाैली । व्यास नगरपालिकाले राष्ट्रिय महिला खेलाडी व्यास नगरपालिका–४ निवासी विमला विकलाई सम्मान गर्ने भएकाे छ । नगर कार्यपालिकाकाे साेमबार बसेकाे बैठकले विकलाई नगद रु ३० हजार राशी सहित सम्मान गर्ने निर्णय गरेकाे हाे ।
यसैबीच नगरप्रमुख वैकुण्ठ न्यौपानेको अध्यक्षतामा बसेको बैठकले मुस्ताङको घरपझोङ गाउँपालिकाको प्रस्ताव अनुसार व्यास नगरपालिका र घरपझोङ गाउँपालिकाबीच भगिनी सम्बन्ध स्थापित गर्ने निर्णय गरेको छ ।
त्यस्तै मङ्सिर ११ गतेदेखि १४ गतेसम्म थाइल्याण्डको बैङ्कको हुनेमा अन्तर्राष्ट्रिय कार्यक्रममा सहभागी हुन नगरप्रमुख न्यौपानेलाई नगरपालिकाको आर्थिक भार नपर्ने गरी सहभागिताका लागि अनुमति प्रदान गर्ने निर्णय बैठकले गरेको छ ।
चालु आर्थिक वर्षमा छनोट भइ पहिलो किस्ता रकम लिइसकेका सुरक्षित आवास अन्तर्गतका लाभग्राहीलाई दोस्रो किस्ता रकम भुक्तानीका लागि यस वर्ष रकम निकासा नभएकाले बाँकी रकम निकासका लागि सङ्घीय मन्त्रालयसँग माग गर्ने निर्णय गरिएको प्रवक्ता जीवन गुरुङले बताए ।
बैठकले विभिन्न तहमा रिक्त दरबन्दीमा सम्बन्धित विद्यालयको समन्वयमा आन्तरिक व्यवस्थापन गर्ने र रिक्त दरबन्दी र सरुवा विज्ञापन गर्न शिक्षा शाखालाई निर्देशन दिने निर्णय गरेको छ ।