दमाैली । नेपाल प्रिमियर लिग खेल्ने पोखरा एभेन्जर्सका खेलाडीलाई तनहुँ सदरमुकाम दमौलीमा साेमबार साँझ स्वागत एवं सम्मान गरिएको छ । तनहुँ उद्योग वाणिज्य सङ्घ र तनहुँ क्रिकेट सङ्घले पोखरा एभेन्जर्सका खेलाडीलाई स्वागत एवं सम्मान गरेको हो ।
त्यसक्रममा पोखरा एभेन्जर्सका मार्की खेलाडी कुशल भुर्तेलको नेतृत्वको खेलाडीलाई दमौली बजार परिक्रमा गराइएको थियो । त्यसक्रममा दुवै सङ्घका पदाधिकारी र खेलप्रेमी सर्वसाधारणको सहभागिता थियो ।
पोखरा एभेन्जर्सका मार्की खेलाडी भुर्तेलले क्रिकेटप्रति दमौलीवासीको साथ र समर्थनले आफूहरुलाई हौसला मिल्ने बताए।
तनहुँ उद्योग वाणिज्य सङ्घका अध्यक्ष वैकुण्ठनाथ मिश्रले पछिल्लो समय क्रिकेटमा नेपालले गरेको प्रगतिले यसखेलतर्फ झनै आकर्षण बढेको बताए। नेपाल प्रिमियर लिगमा सहभागिता जनाउने पोखरा एभेन्जर्सलाई समग्र गण्डकी प्रदेशको साथ र समर्थन रहने मिश्रले बताए ।
तनहुँ क्रिकेट सङ्घका अध्यक्ष मदन तिमिल्सिनाले नेपाल प्रिमियर लिगले खेलप्रेमीलाई उत्साह थपेको बताए । मङ्सिर १५ गतेदेखि काठमाडौमा नेपाल प्रिमियर लिग आयोजना हुँदैछ ।