पोखरा–मुग्लिन सडक : पश्चिम खण्डमा ३२ प्रतिशत प्रगति
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    पोखरा–मुग्लिन सडक : पश्चिम खण्डमा ३२ प्रतिशत प्रगति

    खबरपुञ्ज संवाददाता

    ८ मंसिर २०८१, आईतवार

    दमौली । मुग्लिन पोखरा सडक आयोजनाको पश्चिम (पोखरा–जामुने) खण्डमा हालसम्म जम्मा ३२ प्रतिशत भौतिक प्रगति भएको छ । पछिल्लोपटक थपिएको एक सय एक दिनको ठेक्का म्याद मङ्सिर २० गते समाप्त हुँदैछ ।

    आयोजनाका इञ्जिनियर सौजन्य नेपालका अनुसार चिनियाँ निर्माण कम्पनी यनहुई काइयुयान हाइवे एण्ड ब्रिज कन्सट्रक्सनले एक वर्ष म्याद थप गर्न माग गरेकाले प्रक्रिया प्रारम्भ भएको छ । कास्की र तनहुँमा पर्ने उक्त खण्डमा २०७८ साल भदौदेखि काम सुरु भएको हो ।

    तीनवर्षे ठेक्का अवधि गत भदौमा सकिएपछि दुई पटक म्याद थप हुन लागेको हो । पछिल्लो समय निर्माणको काम दु्रतगतिमा भइरहेकाले आगामी एक वर्षभित्र काम सम्पन्न हुने आधार देखिएको इन्जिनियर नेपालले बताए । “तालचोकदेखि गगनगौँडासम्मको क्षेत्रमा मात्र काम सुरु भएको छैन, अन्यत्र सबै ठाउँमा कामले गति लिएको छ, निर्माण कम्पनीले जनशक्ति र उपकरण थपेर तीव्र गतिमा काम जारी राखेको छ”, उनले भने ।

    चार लेनको उक्त सडकमा हालसम्म एकतर्फी २२ किमी सडक, पश्चिमतर्फ तनहुँको थर्पु, तुरतुरे, कास्कीको तल्लो गगनगौँडालगायत खण्डमा कालोपत्र भइसकेको छभने पश्चिम खण्डअन्तर्गत तनहुँको जामुनेबाट पोखराको सेती पुलसम्मको आधा सडक छ लेन र आधा चार लेनको बन्ने इञ्जिनियर नेपालले जानकारी दिए ।