काठमाडौ । परराष्ट्रमन्त्री डा आरजु राणा देउवा आज चीन प्रस्थान गरेकी छन् । चिनियाँ विदेशमन्त्री वाङ यीको मैत्रीपूर्ण निमन्त्रणामा चीनको औपचारिक भ्रमणका लागि उनी आज मध्याह्न त्यसतर्फ प्रस्थान गरेकी हुन् ।
डा राणा नेपालको परराष्ट्र मन्त्रीमा नियुक्त भएपछि पहिलो पटक चीन भ्रमणमा गएकी हुन् । उहाँलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा परराष्ट्र मन्त्रालयका कायममुकायम सचिव अमृतबहादुर राइ र मन्त्रालयका अधिकारीहरुले विदाई गरेका थिए ।
यस भ्रमणका क्रममा मन्त्री डा राणाले चिनियाँ विदेशमन्त्री वाङ यीसँग द्विपक्षीय भेटवार्ता गर्नेछिन् । सो भेटवार्ता शुक्रबार चीनको सिचुआन प्रान्तस्थित छेन्दु सहरमा हुनेछ ।
चीनको औपचारिक भ्रमणका साथै प्रधानमन्त्री केपी शर्मा ओलीको आसन्न भ्रमणको तयारीस्वरुप उनी चीन लागेकी हुन् । प्रधानमन्त्री ओली अर्को साता चीन भ्रमणमा जाँदै छन् ।
परराष्ट्रमन्त्री डा राणा यही मङिसर १५ गते शनिबार नेपाल फर्किने कार्यक्रम रहेको सचिवालयले जानकारी दिएको छ ।