दमौली । जिल्ला प्रशासन कार्यालय तनहुँमा वितरण नभइ थन्किएर बसेका राष्ट्रिय परिचयपत्र स्थानीय तहबाट वितरण गरिने भएको छ । कार्यालयमा वितरण नभइ थन्किएर बसेका ४० हजार भन्दा बढी राष्ट्रिय परिचयपत्र सम्बन्धित पालिकाबाटै वितरणको तयारी गरिएको हो ।
सहायक प्रमुख जिल्ला अधिकारी जितबहादुर भण्डारीले कार्यालयमा प्राप्त भएका परिचयपत्र सम्बन्धित पालिकाहरुमा पठाइ पालिकाबाटै वितरण गर्न लागिएको जानकारी दिए । त्यसको पूर्वतयारीका लागि अर्को सूचना जारी नभएसम्मका लागि कार्यालयमा राष्ट्रिय परिचयपत्र वितरण कार्य स्थगित गरिएको उनले बताए ।
विसं २०७६ सालदेखि भरिएका करिब ४० हजार बढीको राष्ट्रिय परिचयपत्र कार्यालयमा आइपुगेको छ । त्यसमध्ये एक हजारमात्रै वितरण गरिएको कार्यालयले जनाएको छ । कतिपय व्यक्तिहरु परिचयपत्र लिन नआएकाले पनि कार्यालयमा थन्किएको जनाइएको छ।