दमाैली । उपप्रधान तथा शहरी विकासमन्त्री प्रकाशमान सिंहले राजनीतिक स्थिरता भए मात्रै विकास निर्माणको कामले गति लिने बताएका छन्। तनहुँको भानु नगरपालिका–१ भन्सारस्थित नयाँ शहर विकास आयोजनाको एकीकृत भवनको शुक्रबार उद्घाटन गर्दै मन्त्री सिंहले देशलाई आर्थिक समृद्धिमा लैजान दुई ठूला दल मिलेर सरकार बनाएको बताए ।
छिनछिनमा सरकार परिवर्तन हुँदा विकासको काम अलपत्र पर्न थालेको महशुस भएपछि देशको विकासका लागि पनि दुई दल मिल्नुपर्ने अवस्था आएको उनकाे भनाइ छ । उनले भने, “वर्षमा दुई÷तीन वटा सरकार परिवर्तन हुँदा जनताको पक्षमा काम गर्न नसकिएको धेरै वर्षको अनुभवबाट महशुस भएको छ । राजनीतिक स्थायीत्व दिँदै देशलाई समृद्धितर्फ लैजान नेपाली काङ्ग्रेस र नेकपा (एमाले) बीच सहमति भएर सरकार बनेको हो ।”
वर्तमान सरकारको प्रमुख कार्यभार आर्थिक समृद्धि र जनताको पक्षमा काम गर्नु रहेको बताउँदै उनले भने “सङ्घीय लोकतान्त्रिक गणतन्त्र सुदृढ र संस्थागत गर्दै संविधानबाट प्राप्त अधिकारलाई प्रबद्र्धन गर्दै अगाडी बढ्नुपर्छ ।”
हरेक नेपालीको जीवन र जीविकोपार्जन सहज बनाउने कार्यक्रम ल्याउने सरकारको दायित्व रहेको बताउँदै त्यसतर्फ सरकार केन्द्रित रहेको मन्त्री सिंहको भनाइ छ ।
मन्त्री सिंहले रोजगारमूलक शिक्षामा जोड दिनुपर्ने बताउँदै हरेक नगरपालिकाले विद्यालयमा रोजगारमूलक शिक्षाको कार्यक्रम सञ्चालन गर्नुपर्नेमा जोड दिए । उनले भने, “परम्परागत शिक्षाले मात्रै समृद्धि सम्भव हुँदैन । शिक्षालाई रोजगारसँग जोड्नुपर्छ ।”
मन्त्री सिंहले भानु नगरपालिकाले सञ्चालन गर्न लागेको जग्गा वर्गीकरणको कार्यक्रमलाई मन्त्रालयले सहयोग गर्ने बताए ।