काठमाडौलाई हराउँदै सुदुरपश्चिमको दोस्रो जित
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • खेलकुद

    काठमाडौलाई हराउँदै सुदुरपश्चिमको दोस्रो जित

    खबरपुञ्ज संवाददाता

    १९ मंसिर २०८१, बिहीबार

    काठमाडौ । नेपाल प्रिमियर लिग (एनपिएल) मा सुदूरपश्चिम रोयल्स लगातार दोस्रो खेलमा विजयी भएको छ। सुदुरपश्चिमले बिहीबार भएको दिनको दोस्रो खेलमा काठमाडौं गुर्खाजलाई ७३ रनले पराजित गर्‍यो। 

    काठमाडौंको भने यो दोस्रो हार हो। यसअघिका दुई खेलमा काठमाडौंले एक हार र एक जित निकालेको थियो।

    सुदूरपश्चिमले दिएको १६८ रनको लक्ष्य पछ्याएको काठमाडौं १५.५ ओभरमा ९४ रनमा अलआउट भयो। सुदूरपश्चिमका युवा स्पिनर नरेन साउदले पाँच विकेट लिएपछि काठमाडौं कमजोर स्कोरमा अलआउट भयो।

    काठमाडौंका लागि स्टेफन स्किनाजीले सबैभन्दा बढी ३७ रन जोडे। उनले नरेन साउदको बलमा इशान पाण्डेबाट क्याच हुनुअघि ३३ बलमा ५ चौका र १ छक्का प्रहार गरे।

    काठमाडौंका ‌ओपनर चल्न सकेनन्। ओपनरद्वय माइकल लेभिट ५ रन र शंकर राना ३ रनमा आउट भए। 

    भीम सार्की र गेरार्ल्ड इरासमस १०-१० रन जोडेर आउट भए। सुमित महर्जन पनि १४ रन जोडेर आउट भएपछि काठमाडौं दबाबमा आएका थिए।

    प्रतिक श्रेष्ठ ८ रन र कप्तान करण केसी १ रनमा आउट भएपछि काठमाडौं हार नजिक पुगेको थियो। 

    बलिङमा सुदूरपश्चिमका नरेन साउदले ५ विकेट लिए। भरखरै यू-१९ टोलीबाट एसिया कप खेलेर आएका उनले ३.५ ओभरमा १९ रन खर्चिए। अभिनास बोहराले २ विकेट लिए। उनले ३ ओभरमा १ मेडन राख्दा १२ रन मात्र दिए।

    त्यसअघि काठमाडौं गुर्खाजविरूद्ध सुदूरपश्चिम रोयल्सले ६ विकेटको क्षतिमा १६७ रन जोड्यो। टस जितेको काठमाडौंले फिल्डिङ रोजेपछि पहिले ब्याटिङ गरेको सुदूरपश्चिमका लागि स्कटिस ब्याटर ब्रान्डन मक्मलेनले अर्धशतक प्रहार गरे।

    उनले ३६ बलमा ५३ रन प्रहार गरे। त्यसका लागि उनले ३ चौका र ४ छक्का प्रहार गरे।