एनपिएल प्लेअफमा कुन टिमको भिडन्त को-सँग र कहिले ?
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • खेलकुद

    एनपिएल प्लेअफमा कुन टिमको भिडन्त को-सँग र कहिले ?

    खबरपुञ्ज संवाददाता

    ३० मंसिर २०८१, सोमबार

    काठमाडौ । पहिलो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) को प्लेअफ पुग्ने चार टिमको टुंगो लागेको छ । सोमबार लिग चरणको अन्तिम खेलको नतिजा आएसँगै प्लेअफ खेल्ने चारवटै टिमको टुंगो लागेको हो ।

    डेब्यू सिजनको एनपिएल प्लेअफमा सुदूरपश्चिम रोयल्स, जनकपुर बोल्ट्स, चितवन राइनोज र कर्णाली याक्सलाई देख्न पाइनेछ । काठमाडौं गुर्खाज, विरानगर किंग्स, पोखरा एभेन्जर्स र लुम्बिनी लायन्सले भने पहिलो संस्करणको एनपिएल प्लेअफमा स्थान बनाउन सकेनन् ।    

    एनपिएलको क्वालिफायर वानमा उपाधि दाबेदार सुदूरपश्चिम र जनकपुर भिड्ने छन् । लिग चरणमा सुदूरपश्चिम सर्वाधिक सफल रह्यो । उसले सातमध्ये ६ मा जित र एक खेलमा मात्र हार बेहोर्‍यो । सुदूरपश्चिमले प्रायः खेलमा एकतर्फी जित निकाल्यो । उसले विराटनगर किंग्सलाई ९० रनले हराउँदै लिगमा डेब्यू गरेको थियो ।  

    यस्तै, दोस्रो खेलमा सुदूरपश्चिमले काठमाडौं गुर्खाजविरुद्ध ७३ रनको जित निकाल्यो । ह्याट्रिक जित दर्ता गर्नेक्रममा सुदूरपश्चिमले तेस्रो खेलमा लुम्बिनी लायन्सलाई ४५ रनले हरायो । चौथो खेलमा भने सुदूरपश्चिम चितवनसँग ३३ रनले स्तब्ध भयो । पाँचौं खेलमा सानदार कमब्याक गरेको सुदूरपश्चिमले जनकपुरविरुद्ध ७२ रनको एकतर्फी जित निकाल्यो । 

    छैटौँ खेलमा उसले पोखरा एभेन्जर्सविरुद्ध ५ रनको रोमाञ्चक जित दर्ता गर्‍यो । लिग चरणको अन्तिम खेलमा सुदूरपश्चिमले सोमबार कर्णालीविरुद्ध ६ विकेटको जित हात पार्दै लय कायम राख्यो । 

    उता जनकपुरले पनि लिग चरणमा राम्रो प्रदर्शन गर्‍यो । उसले सातमध्ये पाँचमा जित र दुई खेलमा हार बेहोर्यो । जनकपुरले पहिलो र दोस्रो खेलमा क्रमशः विराटनगर र कर्णालीलाई ८/८ विकेटले हरायो । तेस्रो  खेलमा उसले पोखराविरुद्ध ७ विकेटको जित निकाल्यो ।

    चौथो खेलमा लुम्बिनीविरुद्ध एक रनको रोमाञ्चक जित दर्ता गरेको जनकपुर पाँचौं खेलमा सुदूरपश्चिमसँग ७२ रनले पराजित भयो । छैटौँ खेलमा काठमाडौंलाई ५ विकेटले हराएको जनकपुर सातौं खेलमा चितवनविरुद्ध ३२ रनले स्तब्ध भयो । 

    ऊ अब लिग चरणको हारको बदला लिँदै क्वालिफायरमा सुदूरपश्चिमलाई हराउने दाउमा छ । उता दीपेन्द्र सिंह ऐरी नेतृत्वको सुदूरपश्चिम जनकपुरविरुद्ध अपराजित यात्रा कायम राख्दै फाइनल पुग्न चाहन्छ । यी दुई टिमबीचको बहुप्रतिक्षित प्रतिस्पर्धा बुधबार दिउँसो १ बजेदेखि सुरु हुनेछ । उक्त खेल जित्ने टिम फाइनल र पराजित टोली दोस्रो क्वालिफायर खेल्नेछ ।   

    एनपिएल एलिमिनेटर खेलमा चितवन र कर्णाली आमनेसामेन हुने छन् । लिग चरणमा चितवन तेस्रो तथा कर्णाली चौथो भयो । सोही कारण यी दुई टिमले एलिमिनेटरमा प्रतिस्पर्धा गर्ने भएका हुन् ।

    चितवन र कर्णालीबीचको एलिमिनेटर खेल बुधबार बिहान ९ बजेदेखि सुरु हुनेछ । एलिमिनेटरमा जित निकाल्ने टिमले दोस्रो क्वालिफायरमा स्थान बनाउनेछ । पराजित टोली प्रतियोगिताबाटै बाहिरिनेछ । 

    लिग चरणमा कर्णालीले चितवनविरुद्ध ६ विकेटको जित निकालेको थियो । ऊ प्लेअफ खेलमा पनि चितवनविरुद्धको अपराजित यात्रा कायम राख्ने सोचमा हुनेछ ।

    कुशल मल्ल कप्तान रहेको चितवन लिग चरणको हारको बदला लिँदै कर्णालीलाई हराएर फाइनल नजिक पुग्ने योजनामा छ । लिग चरणमा यी दुवै टिमले सात खेलमध्ये समान चारमा जित र तीन खेलमा हारको सामना गरेका थिए ।