दमाैली । तनहुँको घिरिङ गाउँपालिका घर भई अष्ट्रेलियामा रहेका रामचन्द्र गुरुङले थानी आधारभूत विद्यालयमा रु एक लाख बराबरको शैक्षिक सामग्री सहयोग गरेका छन् । गुरुङले घिरिङ गाउँपालिका–३ नेवापानीस्थित थानी आधारभूत विद्यालयमा अध्ययनरत विपन्न बालबालिकालाई ट्रयाकसुट, जुत्ता, झोला र कापीकलम सहयोग गरेका हुन् ।
घिरिङ गाउँपालिका–५ स्थित सरस्वती माध्यमिक विद्यालयका पूर्व प्रधानाध्यापक एवं सहयोगीदाता रामचन्द्रका पिता पर्शुरामले बिहीबार विद्यालयमा आयोजित कार्यक्रममा विपन्न बालबालिकालाई उक्त सामग्री हस्तान्तरण गरेका थिए ।
त्यसक्रममा उनले विद्यालयको स्थापनादेखि हालसम्म झेल्नुपरेको समस्याको बारेमा चर्चा गर्दै विद्यालयले हासिल गरेको प्रगतिका विषयमा धारणा राखेका थिए ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रणबहादुर गुरुङले अभिभावक र विभिन्न व्यक्तिहरुको सहयोगका कारण विद्यालय सञ्चालनमा सहज भएको बताए ।