दमाैली । तनहुँको व्यास नगरपालिकाले वडा स्तरीय भलिबल प्रतियोगिता आयोजना गर्ने भएको छ । नगरपालिका अन्तर्गत खेलकुद विकास समितिको आयोजनामा आगामी पुस १९ र २० गते वडास्तरीय भलिबल प्रतियोगिता हुन लागेको हो ।
व्यास नगरपालिका–३ खुल्लामैदानमा हुने प्रतियोगितामा १४ वटै वडाको टिमको सहभागिता रहने खेलकुद विकास समितिका संयोजक एवं व्यास नगरपालिका–६ का अध्यक्ष जीवन गुरुङले जानकारी दिए।
पछिल्लो समय नगरभित्र भलिबल प्रतियोगितामा युवाहरुको आकर्षण बढ्दो रहेकाले दक्ष खेलाडी उत्पादन गर्ने उद्धेश्यसहित प्रतियोगिता गर्न लागिएको उनकाे भनाइ छ ।
प्रतियोगितामा प्रथम हुने समूहलाई नगद रु ५० हजार, दोस्रो हुनेलाई नगद रु ३० हजार प्रदान गरिनेछ । त्यस्तै सेमिफाइनल प्रवेश गर्ने दुई समूहलाई जनही रु दश हजार प्रदान गरिने गुरुङले बताए।