दमौली । तनहुँको व्यास नगरपालिकाद्वारा आयोजित छैठौँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि सत्यवती माविले जितेको छ । व्यास–१ भादगाउँस्थित निर्मल माध्यमिक विद्यालय प्राङ्गणमा पुस २६ देखि २८ गतेसम्म सञ्चालित प्रतियोगितामा २८ पदकसहित सत्यवती माध्यमिक विद्यालय पहिलो भएको हो ।
सामुदायिक र संस्थागत गरी सहभागी २३ विद्यालयमध्ये सत्यवतीले १५ स्वर्ण, छ रजत र सात कास्य पदक प्राप्त गरेको छ ।
यस्तै द्वितिय भएको निर्मल माविले ६ स्वर्ण, पाँच रजत र तीन कास्य तथा तृतीय भएको व्यास–६ शिशाघाटस्थित महेन्द्र ज्योति माध्यमिक विद्यालयले तीन स्वर्ण, सात रजत र दुई कास्य पदक प्राप्त गरेको छ ।
जिल्ला समन्वय समिति तनहुँका प्रमुख शान्तिरमण वाग्ले, व्याश नगर खेलकुद समितिका अध्यक्ष एवं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताका संयोजक जीवन गुरुङलगायतले मेडल, ट्रफी र शिल्ड प्रदान गरे । –––