दमौली । भूकम्पबाट हुने क्षति न्यूनीकरणकाका लागि तनहुँमा आयोजित कार्यक्रममा सामूहिक ऐक्यबद्धता जनाइएको छ । २७ औं राष्ट्रिय भूकम्प सुरक्षा दिवसका अवसरमा तनहुँको व्यास नगरपालिकाले बुधबार यहाँ आयोजना गरेको सचेतनासभाका सहभागीहरुले एकअर्काको हात समाती माथि उठाएर सामूहिक ऐक्यबद्धता जाहेर गरेका हुन् ।
त्यसक्रममा भूकम्पीय जोखिममा सुरक्षित हुने उपायहरु सिक्ने, परिवारका सबै सदस्यहरुलाई सिकाउने, आफूले बनाउने घर भूकम्प प्रतिरोधी बनाउने, समुदायमा भूकम्पीय जोखिम न्यूनीकरण सम्बन्धी सचेतना अभिवृद्धिमा लाग्ने प्रतिबद्धता जाहेर गरिएको थियो ।
कार्यक्रममा गण्डकी प्रदेशसभा सदस्य अशोककुमार श्रेष्ठले प्राकृतिक विपत्ति कसैले टारेर टार्न नसकिने तर क्षति न्यूनीकरणका लागि पूर्वतयारी अपनाउन आवश्यक रहेकामा जोड दिए । सहायक प्रमुख जिल्ला अधिकारी जितबहादुर भण्डारीले भूकम्पले सिकाएको पाठ, बलियो संरचना र सुदृढ पूर्वतयारीका लागि अहिल्यैदेखि लाग्नुपर्ने बताए ।
व्यास नगरपालिकाका प्रमुख वैकुण्ठ न्यौपानेले भूकम्पीय सुरक्षाका लागि जनचेतना अभिवृद्धि गर्नुपर्नेमा जोड दिए । कार्यक्रममा व्यास नगरपालिकाका इन्जिनियर रवीन्द्रलाल मूल, इन्जिनियर अमृत केसीले भूकम्पबाट हुने क्षति र यसबाट बच्न सकिने उपायका बारेमा जानकारी गराए ।