शुक्लागण्डकी महोत्सवमा आज ‘लेकाली’ व्याण्डको लाइभ कन्सर्ट
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    शुक्लागण्डकी महोत्सवमा आज ‘लेकाली’ व्याण्डको लाइभ कन्सर्ट

    खबरपुञ्ज संवाददाता

    १० फाल्गुन २०८१, आईतवार

    दमौली ।तनहुँको शुक्लागण्डकी–५ बेलचौतारामा जारी चौथो शुक्लागण्डकी महोत्सवमा आइतवार पोखराको पुरानो लोकपप ब्याण्ड ‘लेकाली’ को लाइभ कन्सर्ट हुने भएको छ ।

    शुक्लागण्डकी नगर उद्योग वाणिज्य संघले आयोजना गरेको सो महोत्सवमा राति ८ बजेदेखि १० बजेसम्म सो प्रस्तुती रहने कन्सर्ट संंयोजक प्रकाश थापाले जानकारी दिए । कन्सर्ट महोत्सव स्थल बेलचौतारास्थित भानुभक्त बहुमुखी क्याम्पसको परिसरमा हुने छ ।

    विसं २०५२ स्थापित सो ब्याण्डका ‘यो मुटुमा’, ‘वनमा कस्तुरी’, ‘पहिलो नजर’लगायत गीत चर्चित छन् । ब्याण्डमा गायक नवीन गुरुङसँगै विशाल, भाइ, कुन्दन, अमित र चाइनिज गुरुङ गरी छ सदस्य छन् । लेकालीले विसं २०५४ मा पहिलो एल्बम ‘यो मुटुमा’ सार्वजनिक गरेको थियो ।

    त्यसपछि ‘मानस’, ‘मोहिनी’, ‘फर्कि हेर्दा’लगायत एल्बम स्रोतामाझ ल्याएको थियो । पोखरामा साङ्गीतिक गतिविधि सुस्ताएपछि बीचमा केही समय ब्याण्ड निस्क्रियजस्तै बनेको थियो । लेकालीले देश तथा विदेशका विभिन्न ठाउँमा हुने मेला–महोत्सवमासमेत प्रस्तुति दिँदै आएको छ । सङ्गीतमा नेपालीपन लेकाली ब्याण्डको विशेषता हो ।

    आगामी फागुन २० गतेसम्म सञ्चालन हुने महोत्सवमा कुल ४ दिन लाइभ कन्सर्टको व्यवस्थापन गरिएको थापाले जानकारी दिए । तेस्रो महोत्सवमा दर्शकहरुको उत्साहजनक उपस्थिति भएपछि यसपटक ४ दिन कन्सर्ट राखिएको उनले बताए ।