दमौली । तनहुँको म्याग्दे गाउँपालिकाले आयोजना गर्न लागेको रु तीन लाख पुरस्कार राशीको दोस्रो म्याग्दे अध्यक्ष कप गण्डकी प्रदेश स्तरीय फुटबल प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको छ । गण्डकी प्रदेश पालिका स्तरीय इलेभेन ए साइड पुरुष फुटबल प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको म्याग्दे गाउँपालिकाका शिक्षा तथा युवा शाखा प्रमुख विष्णु केसीले जानकारी दिए ।
फागुन १६ गतेदेखि २६ गतेसम्म म्याग्दे गाउँपालिका–५ मा सञ्चालन हुने प्रतियोगितामा सहभागिताका लागि गण्डकी प्रदेशका सबै पालिकालाई अनुरोध गरिएको केसीले बताए ।
प्रतियोगितामा विजेताले रु तीन लाख र उपविजेताले रु एक लाख ५० हजार नगद पुरस्कार प्राप्त गर्नेछन् भने सेमिफाइनलमा पुग्ने दुई टिमलाई जनही रु १५ हजार प्रदान गरिनेछ ।
त्यस्तै उत्कृष्ट खेलाडीलाई रु दश हजार, सर्वाधिक गोलकर्ता, उत्कृष्ट मिडफिडर, उत्कृष्ट डिफेन्डर, उत्कृष्ट गोलरक्षक र उत्कृष्ट प्रशिक्षकलाई जनही रु पाँच हजार प्रदान गरिने केसीले जानकारी दिए ।
नेपालको लोकप्रिय खेल फुटबलका लागि म्याग्दे गाउँपालिका फुटबल खेलाडी उत्पादनमा उर्वर भूमिका रुपमा परिचित रहेकाले खेलकुदको माध्यमबाट म्याग्देको पहिचान गराउन प्रतियोगिता आयोजना गरिएको गाउँपालिकाका अध्यक्ष श्रीप्रसाद श्रेष्ठले बताए ।