महायज्ञमा रु ४३ लाख दान सङ्कलन
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    महायज्ञमा रु ४३ लाख दान सङ्कलन

    खबरपुञ्ज संवाददाता

    १६ फाल्गुन २०८१, शनिबार

    दमौली । तनहुँको शुक्लागण्डकी नगरपालिका–११ साँखेमा आयोजित महायज्ञमा रु ४३ लाख ३७ हजार चार सय ९७ दान सङ्कलन भएको छ । साँखेस्थित शिवालय मन्दिर व्यवस्थापन समितिको आयोजनामा महाशिवरात्री पर्वको अवसर पारी आयोजित महायज्ञमा उक्त रकम सङ्कलन भएको हो ।

    महायज्ञको अन्तिम दिन रु पाँच लाख ९८ हजार सङ्कलन भएको महायज्ञ प्रचारप्रसार समितिका संयोजक रमेश गौतमले जानकारी दिए ।

    महायज्ञमा कथा वाचक पण्डित कपिल भट्टले कथावाचन गर्नुभएको थियो । सो अवसरमा देवलिला, जनचेतनामूलक नाटक सहित सङ्गीतमय कथा प्रवचन गरिएको थियो ।

    महायज्ञको समापन गर्दै शुक्लागण्डकी नगरपालिकाका प्रमुख कृष्णराज पण्डितले महायज्ञले सनातन हिन्दु धर्मको संरक्षणका साथै आध्यात्मिक चिन्तमा सहयोग पुग्ने बताए ।

    एक सय २० वर्ष पुरानो उक्त मन्दिरको प्रचारप्रसार र यस ठाउँलाई धार्मिक पर्यटकीय गन्तव्यस्थल बनाउने उद्धेश्यसहित महायज्ञ आयोजना गरिएको मन्दिर व्यवस्थापन समितिका अध्यक्ष निलकण्ठ अर्यालले बताए ।

    विसं १९६० ताका साँखे देवलमा दुई खोलाको सङ्गम स्थलमा रहेको शङ्खाकार ढुङ्गाबाट दाहिने शङ्ख बजेको सुनेर पुजा गर्दै आएको स्थानीयहरु अहिले उक्त स्थानलाई धामको रुपमा विकास गर्न जुटेका छन् ।

    शिवालय क्षेत्रको रुपमा परिचित यो मन्दिरमा वर्षेनी शिवरात्री पर्वमा तनहुँ र स्याङ्जा सहित विभिन्न स्थानबाट भक्तजनहरु दूध चढाउन र रातभर जाग्राम बसेर ठाडो बत्ती बाल्न सहभाीग हुने गर्दछन् । यो मन्दिरमा पूजा आराधना गर्नाले निसन्तान जोडीलाई सन्तान प्राप्ती हुने र मनोकाङ्क्षा पुरा हुने जनविश्वास रहेको अर्याल्को भनाइ छ ।

    तनहँुँको शुक्लागण्डकी नगरपालिका र स्याङ्जा जिल्लाको हरिनास र बिरुवा गाउँपालिकाको केन्द्रमा पर्ने मन्दिरमा आयोजना गरिएको महायज्ञले यस क्षेत्रमा रहेको पुरातात्विक संरचनाहरु जन्ते ढुङ्गा क्षेत्र, सीता पाइला, जनकवि गोकुल जोशीको जन्मस्थान, रजस्थलकोट दरवार र मिलेनियम गुफा लगायतका स्थानको प्रवद्र्धन गर्न सहयोग पुगेको विश्वास गरिएको छ ।