


दमौली । तनहुँको शुक्लागण्डकी नगरपालिका–५ बेलचौतारामा जारी चौथो शुक्लागण्डकी महोत्सवमा सञ्चालन भएको प्रदेशस्तरीय भलिबल प्रतियोगिताको फाइनलमा तनहुँको शुक्लागण्डकी नगरपालिका र नवलपुरको बौदीकाली गाउँपालिका प्रवेश गरेका छन् ।
सोमबार भएका सेमिफाइनलको पहिलो खेलमा स्याङ्जाको हरिनास गाउँपालिकालाई पराजित गर्दै शुक्लागण्डकी नगरपालिका फाइनल प्रवेश गरेको हो ।
शुक्लागण्डकीले हरिनासलाई ३–१ को सेटले पराजित गर्दै फाइनलको यात्रा सुरक्षित गरेको हो ।
दोस्रो खेलमा नवलपुरको बौदीकालीले स्याङ्जाको पुतलीबजार नगरपालिकालाई ३–१ को सेटमा हराउँदै फाइनलमा शुक्लागण्डकीसँगको भेट पक्का गरेको हो । फाइनल खेल मङ्गलबार हुने खेल व्यवस्थापन समितिका संयोजक अमृत घिमिरेले जानकारी दिए ।
तेस्रो स्थानका लागि स्याङ्जाको हरिनास गाउँपालिका र स्याङ्जाकै पुतलीबजार नगरपालिकाबीच मङ्गलबार नै खेल हुनेछ ।
प्रतियोगितामा प्रथम हुने समूहले नगद रु दुई लाख, द्वितीयले रु एक लाख, तृतीयले रु ५० हजार र सान्त्वना हुनेले रु २५ हजार साथमा ट्रफी, मेडल र प्रमाणपत्र पाउने संयोजक घिमिरले बताए । प्रतियोगितामा १३ समूहको सहभागिता रहेको छ ।
प्रतियोगितामा उत्कृष्ट खेलाडी, स्पाईकर, सेटर, डिफेन्डर, ब्लकर, कोच र सर्भरलाई पनि पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ ।
शुक्लागण्डकी नगर उद्योग वाणिज्य सङ्घले आयोजना गरेको महोत्सव फागुन २१ गतेसम्म सञ्चालन हुनेछ । आर्थिक समाजिक खेलकुदको विकास, कृषि तथा पर्यटनको प्रबद्र्धन, शुक्लागण्डकी महोत्सव कला सीप र संस्कृतिको संरक्षण भन्ने मूल नाराका साथ जारी महोत्सवमा विभिन्न जातजातिका सांस्कृतिक एवम् झाँकी प्रदर्शनी, तीनखोलेदेवी, ढोरवाराही मन्दिर दर्शन, रकगार्डेन, दगाम, भूजिकोट भ्यू टावर, भुमे भैरव मन्दिर तथा ऐतिहासिक स्थानथोक दरवार अवलोकन एवं मिलेनियम ट्रेक पदयात्रालाई निरन्तरता दिइएको छ ।
महोत्सवमा रत्यौली प्रतियोगिता, कौरा नृत्य, विद्यालयस्तरीय खुला नृत्य प्रतियोगिता समेत समावेश गरिएको छ । महोत्सव अवधिभर दुई लाख दर्शकको सहभागिता र करिब रु पाँच करोड बराबरको कारोवार हुने महोत्सव संयोजक समुन्द्रराम श्रेष्ठले जानकारी दिए ।