


दमौली। नेपाली कांग्रेस व्यास नगर समितिले व्यास नगरपालिकाको सरसफाई केन्द्र निर्माणमा कर्मचारीबाट असहयोग भएको सञ्चारमाध्यममा प्रकाशित भएकाले उक्त प्रकरणको छानबिन गर्न माग गरेको छ ।
नगर सभापति सूर्यचन्द्र हड्खलेले सोमबार विज्ञप्ती जारी गरी नगरपालिकालाई नै दुषित र दिर्घकालीन योजनामा अवरोध खडा गर्न खोजिएको कुरामा कसरी, किन र केका लागि भन्ने कुरामा तुरुन्त व्यास नगरपालिकाले एक स्वतन्त्र छानबिन समिति गठन गरी यथाशीघ्र दोषीलाई कारवाहीको प्रक्रियामा लैजान आग्रह गरेका छन् ।
नगरपालिकाको दिनदिनकै सरसफाई व्यवस्थापनको पेचिलो अवस्थालाई अन्त्य गर्न कानुनी मार्ग अपनाउन जनप्रतिनिधि र सम्बन्धित सबैमा कांग्रेसले आग्रह गरेको छ।
विज्ञप्तीमा भनिएको छ, ‘नगरपालिकाको उपप्रमुख, जग्गा व्यवस्थापन समितिका संयोजक सहित केहि वडाध्यक्षहरु र अन्य जनप्रतिनिधी, तनहुँ उद्योग वाणिज्य सङ्घ, र सरोकारवाला लगायत सहभागी भई व्यास नगरपालिका सरसफाई जग्गा व्यवस्थापन समितिको आयोजनामा व्यास नगरपालिकाकाको दीर्घकालिन गौरवका “सरसफाई व्यवस्थापन केन्द्र निर्माण आयोजना” को कार्यान्वयन समस्या र चुनौतीहरुको सम्बन्धमा फागुन १७ गते गरिएको पत्रकारहरु समक्ष सार्वजानिक सरोकारको विषयमा सत्यतथ्य कुरा प्रकाशनमा आएको छ । यस घटना प्रति नेपाली कांग्रेस व्यास नगर समितिको गंभिर ध्यानाकर्षण भएको छ ।’
व्यास नगरपालिकाद्धारा सार्वजानिक हितमा गर्न खोजिएको कुरामा कार्यलयबाटै अवरोध गरिएको भन्ने समाचार प्रति पार्टी जानकार रहेको भन्दै विज्ञप्तीमा भनिएको छ, ‘हामी नागरिकका हक अधिकार तथा सुशासनका विषयमा जनता सर्वाधिकार सम्पन्न होस् भन्ने कुरामा सचेत छौं। जुन कुरा छापा माध्यम, अनलाइन पत्रपत्रिका, युटुब तथा सामाजिक सञ्जालहरुमा प्रेषित जानकारीबाट नगरवासीकै करबाट पारिश्रमीक खाने केही कर्मचारी सलग्न भई गरिएको बारे छानबिन हुनुपर्छ ।’