तनहुँको म्याग्दे गाउँपालिकाले आयोजना गरेको दोस्रो म्याग्दे अध्यक्ष कप फुटबल प्रतियोगिताको उपाधि आयोजकले जितेको छ । म्याग्दे गाउँपालिका–५ छाङपाटनमा आज सम्पन्न फाइनल खेलमा लमजुङको दोर्दी गाउँपालिकालाई पराजित गर्दै आयोजक म्याग्देले उपाधि जितेको हो ।
निर्धारित समयभित्र दुवै समूहबाट गोल हुन नसकेपछि खेल ट्राइबेकरमा पुगेको थियो । ट्राइबेकरमा म्याग्देले दोर्दीलाई ४–३ ले पराजित गरेको म्याग्दे गाउँपालिका शिक्षा, युवा तथा खेलकुद शाखा प्रमुख विष्णु केसीले जानकारी दिए ।
शुक्लागण्डकी नगरपालिकालाई पराजित गर्दै म्याग्दे फाइनल प्रवेश गरेको थियो भने बन्दीपुर गाउँपालिकालाई पराजित गर्दै दोर्दीले फाइनल यात्रा तय गरेको थियो ।
प्रतियोगितामा विजेता आयोजक म्याग्दे गाउँपालिकाले रु तीन लाख नगद प्राप्त गरेको छ भने उपविजेता दोर्दीले रु एक लाख ५० हजारमा चित्त बुझाएको छ । सेमिफाइनल पुगेको बन्दीपुर र शुक्लागण्डकीलाई रु १५÷१५ हजार प्रदान गरिएको छ ।
प्रतियाेगितामा सर्वोत्कृष्ट खेलाडी म्याग्देका हुम बहादुर भुजेल, उत्कृष्ट गोलकिपर म्याग्देकै रतन नेपाली, उत्कृष्ट डिफिन्डर दाेर्दीका कविराम गुरुङ, उत्कृष्ट मिडफिल्डर दाेर्दीका लिल जङ तामाङ, सर्वाधिक गोलकर्ता बन्दीपुरका संजिब थापा र दाेर्दीका दिपक गुरुङ र उत्कृष्ट कोच म्याग्देका विमल थापा घाेषित भए ।
नेपालको लोकप्रिय खेल फुटबलका लागि म्याग्दे गाउँपालिका फुटबल खेलाडी उत्पादनमा उर्वर भूमिका रुपमा परिचित रहेकाले खेलकुदको माध्यमबाट म्याग्देको पहिचान गराउन प्रतियोगिता आयोजना गरिएको गाउँपालिकाका अध्यक्ष श्रीप्रसाद श्रेष्ठले बताए।