दमाैली । तनहुँ क्षेत्र नम्बर १ का प्रतिनिधिसभा सदस्य डा. स्वर्णिम वाग्लेले तनहुँ र चितवन जोड्ने घुमाउनेमा अलपत्र पुलको बारेमा पुनः सरकारको ध्यानाकर्षण गराएका छन् ।
बुधबार बसेको प्रतिनिधिसभा बैठकमा बोल्दै डा. वाग्लेले उक्त पुल निर्माण सुरु भएको दश वर्षसम्म पनि अलपत्र हुनु सरकारको अकर्मण्यता रहेको आरोप लगाए ।
दशवर्षदेखि सुरु भएको पुलको काममा एक तिहाइ पनि काम नहुनु दुःखद भएको भन्दै वाग्लेले पुल निर्माण नहुँदा हजारौ जनतालाई सास्ती पुगिरहेको उल्लेख गरे । विकासका दृष्टिले रुपान्तरणकारी योजना मानिएको यस पुल निर्माणका लागि असाधारण सहजीकरणको बाटोमा लाग्न सरकारलाई उनले आग्रह गरे ।
ठेक्का तोडेर नयाँ प्रक्रियामा जाँदा पनि पुल बन्ने सुनिश्चितता गर्न भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयलाई उनले ध्यानाकर्षण गराए ।