


दमौली । तनहुँको ऋषिङ गाउँपालिका–१ झापुटारमा निर्माणाधीन एक सय ४० मेगावाट क्षमताको तनहुँ जलविद्युत आयोजनाको भूमिगत विद्युतगृहभित्र सिभिल निर्माण कार्य सकिएको छ ।
आयोजनाको प्याकेज दुईको विद्युतगृह तथा सम्बन्धित उपकरण अन्तर्गत सिभिल कार्य सकिएको तनहुँ जलविद्युत आयोजनाले जनाएको छ । भूमिगत विद्युतगृहभित्र हाल इलेक्ट्रोमेकानिकल कार्य भइरहेको आयोजना प्रमुख श्यामजी भण्डारीले जानकारी दिए ।
भूमिगत विद्युतगृहभित्र पेनस्टक पाइप जडान, वेल्डिङ तथा कङ्क्रिटिङको काम भइरहेको भण्डारीको भनाइ छ । मुख्य सुरुङको बेन्चिङ खन्ने कार्य तथा आवश्यक सहयोगका लागि रक बोल्ट जडान तथा सटक्रिट, सफा गर्ने, खन्ने लगायतका कार्य जारी छन् । प्याकेज दुईमा हालसम्म ६६ प्रतिशत भौतिक प्रगति भएको छ । यस प्याकेजको ठेक्का सिनो हाइड्रोपावर लिमिटेडले पाएको छ ।
तीन वटा प्याकेजमा काम भइरहेको आयोजनाको हालसम्मको समग्र भौतिक प्रगति ६५ प्रतिशत पुगेको छ । भण्डारीका अनुसार प्याकेज १ अन्तर्गत बाँध निर्माणमा ३५ प्रतिशत, प्याकेज २ अन्तर्गत विद्युतगृह निर्माणमा ६६ प्रतिशत र प्याकेज ३ अन्तर्गत प्रसारण लाइन निर्माणमा ७५ प्रतिशत प्रगति भएको जानकारी दिए ।
प्याकेज ३ अन्तर्गत प्रसारण लाइन निर्माणका लागि वन क्षेत्रको जग्गा प्रयोग र त्यहाँ रहेका रुखबिरुवा हटाउने कार्य ढिलाइ हुँदा काममा केही ढिलाइ भएको छ । त्यसका लागि आयोजनाले सम्बन्धित निकायहरुसँग आवश्यक परामर्श, समन्वय र सहजीकरण गरिरहेको भण्डारीको भनाइ छ ।
आयोजनाको समग्र निर्माण विसं २०८३ असारभित्र सक्ने लक्ष्य राखिएको छ । कम्पनीको पुँजी संरचना तथा वित्तीय व्यवस्थापन आयोजनाको कुल लागत (प्रसारण लाइन, ग्रामीण विद्युतीकरण तथा निर्माण अवधिको व्याज समेत) ५० करोड ५० लाख अमेरिकी डलरको लागि एडीबीले १५ करोड, जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाईका)ले १८ करोड ४० लाख, युरोपियन लगानी बैङ्कले आठ करोड ५० लाख र नेपाल सरकार÷नेपाल विद्युत प्राधिकरणले आठ करोड ६० लाख डलर व्यहोर्ने गरी वित्तीय व्यवस्थापन गरिएको छ ।