दमौली । तनहुँको भानु नगरपालिका – ६ मा रहेको प्रभात माध्यमिक विद्यालयमा विद्यानाथ ढकालद्वारा लेखिएको ‘बालबालिकाका सन्दर्भमा केही कुरा’ पुस्तिकाको विमोचन गरिएको छ ।
विद्यालयका सम्पूर्ण विद्यार्थीबाट एकसाथ सामूहिक रुपमा सो पुस्तिकाको शुक्रबार विमोचन गरिएको हो । विमोचन कार्यक्रममा आफ्नो मन्तव्य राख्दै ढकालले आफूले ‘क ख’ सिकेको विद्यालय भएकाले बालबालिकासँग सम्बन्धित उक्त पुस्तिका सो विद्यालयका विद्यार्थीहरूबाट विमोचन गराउन पाएकोमा अत्यन्त खुसी लागेको बताए ।
आजका बालबालिका नै भोलि परिवार, समाज र राष्ट्रका मूल आधार भएकाले उनीहरूका बारेमा अहिलेदेखि नै हामी सबैले विशेष चासोका साथ सकारात्मक रुपमा सोचिनु पर्ने उनको भनाइ रहेको थियो ।
विद्यालयका प्रधानाध्यापक चीजकुमार सुर्खालीले यस्तो महत्वपूर्ण विषयसँग सम्बन्धित पुस्तिकाको विमोचन आफ्नो विद्यालयमा गर्ने अवसर जुटाइ दिएकोमा लेखकप्रति विशेष धन्यवाद व्यक्त गरेका थिए ।
विद्यालयका अध्यक्ष रितेश खड्कीले पुस्तिका धेरै महत्वपूर्ण रहेको र यसको थोरै मात्र अनुसरण गर्नसके पनि हामी हाम्रो समाजलाई सही बाटोमा हिँडाउन सक्ने बताए ।
सो अवसरमा ढकालका तर्फबाट विद्यालयलाई शैक्षिक सामग्रीका साथ पुस्तकहरू पनि प्रदान गरिएको थियो । सो कार्यक्रममा स्वागत सहायक प्रधानाध्यापक रेशम अधिकारी तथा सञ्चालन शिक्षक सन्तोष ढकालले गरेका थिए ।