दमाैली, ४ चैत । भानु नगरपालिका – ४ का विद्या ढकाल एउटा विशेष अभियानमा क्रियाशील भइरहेछन् । एक सामाजिक, राजनीतिक व्यक्तिका रुपमा आफ्नो पहिचान बनाएका ढकाल अहिले ‘बालबालिका हाम्रो भविष्यका मूल आधार’ भन्ने मान्यतालाई समाजमा स्थापित गर्न कम्मर कसेर लागेका छन् ।
परिवार, समाज अनि देशको उज्ज्वल भविष्यका लागि अहिलेका बालबालिकाकालाई सही बाटोमा हिँडाउनु आवश्यक छ भन्ने सन्देश आम जनतामा पुग्नुपर्छ भन्दै उनी झोला भरि आफूले तयार पारेको ‘बालबालिकाका सन्दर्भमा केही कुरा’ पुस्तिका बोकेर भानु नगरपालिकाका टोल टोलमा पुगिरहेका छन् ।
अभियानबारे हाम्रो जिज्ञासामा लामो समय शिक्षण पेसामा बिताएका ढकाल पहिलो ध्यान बालबालिकामा हुनुपर्छ भन्ने चेतना सबैमा जगाउन सके भोलिको नेपाल सुन्दर हुने विचार व्यक्त गर्दछन् । हाम्रो अर्को प्रश्नको उत्तरमा उनले पहिलो चरणमा भानु नगरपालिकाका सबै टोलमा पुग्ने आफ्नो लक्ष्य रहेको बताए ।