दमाैली । तनहुँको बन्दीपुर गाउँपालिका–१ निवासी कृष्ण अधिकारीले यातायात व्यवस्था कार्यालय डुम्रेको भवन निर्माणका लागि करिब साढे दुई करोड मूल्य बराबरको जग्गा निःशुल्क दान गरेका छन् ।
अधिकारीले मङ्गलबार मालपोत कार्यालय तनहुँबाट पाँच रोपनी जग्गा यातायात व्यवस्था कार्यालयको नाममा नामसारी गरिदिएका हुन् । हाल भाडामा सञ्चालन हुँदै आएको कार्यालयको भवन निर्माणका लागि जग्गा खोजी गरिएकामा अधिकारीले कार्यालयलाई जग्गा दान गरेका हुन् ।
उक्त जग्गाको हालको मूल्य साढे दुई करोड बराबर रहेको वडाध्यक्ष शिवकुमार श्रेष्ठले जानकारी दिए । यसअघि उनले वडा कार्यालय भवन निर्माणका लागि समेत आठ आना जग्गा दान गरेका थिए ।
अधिकारीका दुई छोरा राजेन्द्र र रविन्द्र अधिकारी चितवनमा व्यापार व्यवसाय छन् । कार्यालयको भवन निर्माणका लागि राजीखुसीले जग्गा पास गरिदिएको अधिकारीले बताए ।
यातायात व्यवस्था कार्यालय डुम्रेका प्रमुख गोपाल ओलीले कार्यालयका लागि जग्गा प्राप्ति भएसँगै अब थप प्रक्रिया अगाडी बढ्ने बताए । हाल कार्यालय बन्दीपुर गाउँपालिका–४ विमलनगरमा एक घरमा भाडामा सञ्चालन हुँदै आएको छ । अब उक्त जग्गामा कार्यालय भवन निर्माण भएसँगै सहज हुने उनकाे भनाइ छ ।
व्यक्तिको घरमा कार्यालय सञ्चालन गर्दा लाखौ रकम खर्च हुने गरेकाले आफ्नै भवन निर्माण गरी सेवा दिने ओलीको भनाइ छ ।
यातायात व्यवस्था कार्यालयको भवन निर्माणका लागि जग्गा खोजी गर्न बन्दीपुर गाउँपालिकाले घनश्याम श्रेष्ठको संयोजकत्वमा जग्गा खोज समिति गठन गरेको थियो ।