पोखराको कोटिहोम विवाद सल्टियो, अब हरिहरगुफामा हुने
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • देश

    पोखराको कोटिहोम विवाद सल्टियो, अब हरिहरगुफामा हुने

    खबरपुञ्ज संवाददाता

    ८ चैत्र २०८१, आईतवार

    पोखरा, १० चैत । पोखरामा हुन लागेको श्रीगण्डकी शतकुण्डीय गायत्री कोटिहोम विराट् ज्ञान महायज्ञको स्थान विवाद सुल्झिएको छ। अब कोटिहोम नयाँ स्थानमा हुने तय भएको हो।

    पोखरा महानगरपालिका–६ लेकसाइडस्थित नेपाल ट्रष्टको जग्गामा हुने भनिएको कोटिहोम त्यहाँ कुनै हालतमा हुन नदिने मेयर धनराज आचार्यको अडान थियो। अनुमति नलिइकन कोटीहोम पक्षधरले नेपाल ट्रष्टको जग्गामा भूमिपुजन गर्ने क्रममा फागुन २३ गते पोखरा महानगरपालिकाले रोक्न खोज्दा दोहोरो झडपसमेत भयो। झडपमा पोखरा नगरप्रहरी ११ जना र कोटीहोम पक्षधरका ९ जना घाइतेसमेत भएका थिए। 

    त्यसपछि विवाद सुल्झाउन दूवै पक्ष जिल्ला प्रशासन कार्यालयको रोहबरमा वार्तामा बसेका थिए। वार्तापछि पोखरा महानगरपालिका नेपाली कांग्रेस संसदीय दलका नेता दीवसमान प्रधानांग र नेकपा एमाले संसदीय दलकी नेता राधिका शाही, कोटीहोम सञ्चालन गर्ने मानव सेवा फाउण्डेसनकोतर्फबाट विष्णुराज गिरी र विजयी केसी जिल्ला प्रशासन कार्यालयका सहायक प्रमुख जिल्ला अधिकारी गंगाबहादुर क्षेत्री सदस्य रहेको समितिले हरिहरगुफाको जग्गामा महायज्ञ गर्नलाई सहमति जुटाएको हो।

    पोखरा महानगरपालिका–१७, बिरौटास्थित हरिहरगुफाको जग्गा तय भएको समिति सदस्य प्रधानांगले बताए। बरालफीड नजिकै रहेको जग्गामा कोटिहोम गर्नलाई सहमति जुटेको उनको भनाइ छ। ‘समितिले स्थानको टुंगो लगाएर सहमति गरेको छ।

    कार्यपालिका बैठकबाट निर्णय हुन बाँकी छ’, उनले भने। महायज्ञ हुने भनिएको हरिहरगुफाको जग्गा सदा शिवजी सिद्धेश्वर हरिहर मन्दिर (सिद्ध गुफा वेद विद्याश्रम गुठी व्यवस्थापन समिति)को स्वामित्वमा रहेको छ। यहाँ महायज्ञ गर्नलाई वडा र महानगरपालिकाबाट अनुमति लिइसकेको मानवसेवा फाउण्डेसनका सञ्चार संयोजक लेखराज ढकालले बताए। ‘त्यहाँ तयारी पनि सुरु भइसकेको छ’, उनले भने।

    मानव सेवा फाउन्डेशनले वैशाख १७ देखि जेठ २६ गतेसम्म ‘ऐतिहासिक श्रीगण्डकी शतकुण्डीय गायत्री कोटिहोम विराट महायज्ञ’ गर्ने तयारीमा छ। पोखराका विभिन्न स्थानका वर, पीपल, समी लगायतका चौताराका रुख ठुट्दै हुने गरेर काटेपछि मानवसेवा फाउण्डेसन र पोखरा महानगरपालिकाबीच जुहारी सुरु भएको थियो। सुरुमा रुख काट्न मौन स्वीकृति दिएको महानगरपालिकाले पछि आलोचना भएपछि जफथ नै गर्‍यो। (देशसञ्चार डटकम)