दमौली, १३ चैत । नवलपुरको बुलिङटार गाउँपालिका–४ कोखेटार र तनहुँको ऋषिङ गाउँपालिका–४ मधुवन जोड्ने पक्की पुल निर्माणमा नौ वर्ष बित्दा पनि काम सम्पन्न नभएपछि बुलिङटार गाउँपालिकाका अध्यक्ष दिपेन्द्र सुनारीको नेतृत्वमा युवा नेता विद्रोही गिरी र स्थानीयहरूले सडक विभाग गुहारेका छन् ।
पुल सेक्टर कार्यालय पोखराका प्रमुख ज्ञानेन्द्र कनौलीले पुल निर्माणमा भएको ढिलाइप्रति गम्भीर ध्यानाकर्षण गराउँदै अब कुनै बहानामा काम रोक्न नदिइने बताए। २२० मिटर लामो पुलका ६ मध्ये ५ पिल्लर निर्माण भइसकेका छन्, अन्तिम पिल्लरको जमिनमुनिको काम पनि सकिएको हुँदा निर्माण पक्षले ध्यान दिएमा छिट्टै काम सम्पन्न हुने उनको भनाइ छ।
विस २०७३ असार २९ गते पुल निर्माणको सम्झौता भई २०७७ वैशाख २८ सम्म सक्ने लक्ष्य राखिएको थियो। तर समयमै काम नसकिएपछि म्याद थपिंदै हाल २०८२ चैत ७ गतेसम्म पुर्याइएको छ। पुल निर्माण छिटो सम्पन्न गराउन अध्यक्ष सुनारीको विशेष पहलमा स्थानीय नेताहरू, सरोकारवालाहरू र पुल सेक्टर कार्यालय प्रमुख कनौलीसहितको टोलीले सडक विभागका महानिर्देशक रामहरि पोखरेललाई भेटी तत्काल निर्माण कार्य सम्पन्न गर्न अनुरोध गरेको छ।
महानिर्देशक पोखरेलले अब कुनै बहानामा निर्माण रोकिने नसक्ने र विभागले कडाइका साथ निगरानी गर्ने प्रतिबद्धता जनाए । भुक्तानी सम्बन्धी कुनै समस्या नरहे पनि निर्माण कम्पनीको लापरबाहीका कारण ढिलाइ भएको उनले बताए ।