दमौली, १६ चैत । प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको रक्षा र पत्रकार सुरेश रजकको हत्यारालाई कारवाहीको माग गर्दै नेपाल पत्रकार महासंघ तनहुँले शनिबार विरोध सभा सम्पन्न गरेको छ।
शुक्रबार राजावादीहरुले काठमाडौमा आयोजना गरेको आन्दोलनका क्रममा पत्रकारको आगजनी गरेर हत्या भएको विरोध स्वरुप शाखाले व्यास नगरपालिका-३ अनसन चौतारीमा विरोध सभा गरेको हो। महासंघको ७० औं स्थापना दिवसको कार्यक्रम स्थगित गरी विरोध सभा गरिएको हो ।
विरोध सभामा नेपाल पत्रकार महासंघका निवर्तमान केन्द्रीय सदस्य प्रदीप काफ्ले, पूर्व अध्यक्षहरु डम्बरबहादुर अधिकारी, ओमकार आचार्य लगायतले पत्रकारको हत्यामा संलग्नलाई कडा भन्दा कडा कारवाही गर्न सरकारसँग माग गरे ।
शाखा अध्यक्ष डिपी अधिकारीले महासंघको केन्द्रीय समितिले तय गर्ने थप आन्दोलनका कार्यक्रमलाई जिल्लामा सञ्चालन गरिने बताए ।