


दमौली, २२ चैत । होटल व्यवसायी संघ तनहुँले नयाँ वर्षमा सांगितिक साँझ आयोजना गर्ने भएको छ । संघले नेपाली नयाँ वर्षको अवसर पारी चैत ३१ गते सांगितिक साँझ आयोजना गर्न लागेको हो । संघले शुक्रबार पत्रकार सम्मेलन आयोजना गरी कार्यक्रम बारे जानकारी गराएको छ ।
पत्रकार सम्मेलनमा संघका निवर्तमान अध्यक्ष एवं प्रदेश उपाध्यक्ष दुर्गाविलास भट्टराईले नेपाली नयाँ वर्षमा युवायुवतीलाई लक्षित गरी कार्यक्रम आयोजना गरिएको जानकारी दिए । विगतका वर्षमा कार्यक्रम गर्दा घाटा भएपनि निरन्तरताका लागि कार्यक्रम गर्न लागिएको उनले बताए।
कार्यक्रममा र्यापर बुद्ध लामा, विवेक लामा, मन्जु सेन्ताङ र डिजे मिनी दुराको प्रस्तुती रहनेछ । कार्यक्रम सञ्चालनका लागि रु ६ लाख खर्च हुने अनुमान गरिएको छ।
संघका अध्यक्ष गिरबहादुर थापाले यो कार्यक्रम संघको वार्षिक कार्यक्रम जस्तौ बनेकाले घाटा बेहोरेर पनि यसलाई निरन्तरता दिइने बताए । नयाँ वर्षमा दमौलीमा कार्यक्रम नहुँदा युवायुवती अन्यत्र जाने अवस्था रहेकाले रहेकामा स्थानीय स्तरमै मनोरञ्जन गराउने अवसर सिर्जना गर्न कार्यक्रम गरिएको उनको भनाइ थियो ।