दमौली, २६ चैत । गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले सामूहिक प्रयासबाट विपद् न्युनीकरण गर्न सकिने बताएका छन् । सशस्त्र प्रहरी बल नेपाल नं २३ गण हेडक्वार्टर मनकामना गण तनहुँले मंगलबार आयोजना गरेको प्रदेश स्तरीय विपद् प्रतिकार्य नमुना अभ्यास कार्यक्रममा मुख्यमन्त्री पाण्डेले उक्त कुरा बताएका हुन् ।
गण्डकी प्रदेश बहु-प्रकोपबाट प्रभावित रहेको बताउँदै उनले हरेक बर्ष प्राकृतिक तथा गैर प्राकृतिक विपदको सामान गर्न परेको बताए । यो अभ्यासले समुदायलाई विपदको समयमा कसरी सुरक्षित रहने भन्ने सचेत गराउनुका साथै विपदबाट हुने जनधनको क्षति न्यूनीकरणमा सहयोग पुग्ने उनको भनाइ थियो ।
विपद जोखिम न्यूनीकरणका लागि तयारी अवस्थामा रहन उनले स्थानीय जनप्रतिनिधि, सुरक्षा निकाय, सामाजिक संघसंस्था र नागरिकलाई पाण्डेले अनुरोध गरे ।
विपदको सम्भावित खतरा न्यूनीकरण तथा विपदपछिको खोज र उद्दार, उपचार र राहतका लागि प्रदेश स्तरमा कम्तीमा १० करोड र जिल्ला स्तरमा १० लाखको विपद व्यवस्थापन कोष संचालन गरिएको उनले जानकारी दिए ।
सडक दुर्घटना, बाढी, पहिरो आगलागी र भुकम्प जस्ता प्राकृतिक तथा मानव श्रृजित विपद्को बेलामा कसरी बच्ने, उद्धार गर्दा के -के कुरामा ध्यान दिने, प्राथमिक उपचारका लागि गर्नुपर्ने तयारी तथा राहतका लागि कहाँ समन्वय गर्ने भनेर सामुदायिक विपद् प्रतिकार्य अभ्यासका कार्य गरिएको प्रहरी उपरिक्षक अशोक लम्सालले जानकारी दिए।
कार्यक्रममा स्थानीय तहका प्रमुख, उपप्रमुख, अध्यक्ष, उपाध्यक्ष, तनहुँ तथा गोरखाका प्रमुख जिल्ला अधिकारी तथा जिल्ला स्थित तिनै सुरक्षा प्रमुखहरु तथा सामाजिक संघसंस्था तथा स्थानीयहरुको सहभागिता रहेको थियो ।