गोरखा, २८ चैत । नेपाली सेनाले आजदेखि तेस्रो ऐतिहासिक गोरखा–जितगढी एकीकरण पदयात्रा सुरु गरेको छ।
नेपाल एकीकरणका क्रममा तत्कालीन राजा पृथ्वीनारायण शाहले प्रयोग गरेका पदमार्गको प्रवर्द्धन गर्ने उद्देश्यसहित सेनाले गोरखा–जितगढी एकीकरण पदयात्राको थालनी गरेको नेपाली सेना रिपुमर्दन गण गोरखाका गणपति प्रमुख सेनानी अशोककुमार क्षेत्रीले जानकारी दिए।
ऐतिहासिक महत्व बोकेका कोट, गढी, किल्लाहरूको संरक्षण, संवर्द्धन र प्रवर्द्धन गर्दै इतिहासलाई जोगाउने पदयात्राको उद्देश्य हो,’ उनले भने, ‘सोही उद्देश्यका साथ आजदेखि गोरखा हुँदै जितगढीसम्म पदयात्राको थालनी गरिएको छ।’ सेनाको टोली एघारौँ दिनमा जितगढी पुग्ने छ।
टोलीले ३०५ किलोमिटर दूरी पार गर्ने प्रमुख सेनानी क्षेत्रीले बताए। पदयात्रामा पृथ्वीनारायण शाहले खडा गरेका कालीबक्स गण, पुरानो गोरख, बर्दवाणी गण, सवुज गण र जितगढीको लडाइँमा भाग लिएको गुरुबक्स पल्टनको टोली सहभागी भएका छन्।