काठमाडौँ, २९ चैत । तीनकुने घटनाका आरोपी दुर्गा प्रसाईं विरुद्ध १२ दिन म्याद थप भएको छ । जिल्ला अदालत काठमाडौँले उनीमाथि अनुसन्धान गर्न शुक्रबार प्रहरीलाई १२ दिनको म्याद दिएको हो ।
न्यायाधीश शिशिर राज ढकालको इजलासले उनी क्यान्सरको बिरामी भएकाले उपचारको उचित प्रबन्ध गर्न निर्देशनात्मक आदेश समेत दिएको छ । प्रसाईं भारतबाटै पक्राउ परेको भनिएपनि प्रहरीले झापाको बिर्तामोडबाट शुक्रबार पक्राउ परेको दाबी गरेको छ।
प्रहरीले उनलाई आजै झापाबाट काठमाडौँ ल्याएर अदालतमा म्याद थपका लागि उपस्थित गराएको हो । चैत १५ मा तीनकुनेमा राजावादी समूहले गरेको प्रदर्शन भड्काउन भूमिका खेलेको आरोप प्रसाईंमाथि छ । प्रसाईं नै संयोजक रहेको राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियानको नेतृत्वमा तीनकुनेमा प्रदर्शन भएको थियो ।