दमाैली, २९ चैत। तनहुँको बन्दीपुर गाउँपालिका–२ कामीडाँडामा आज साँझ चितुवाको आक्रमणबाट एक बालिकाको मृत्यु भएको छ । मृत्यु हुनेमा दश वर्षीया अनुजा विक रहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।
फुपु दिदीको घरमा जाँदै गरेको अवस्थामा चितुवाको आक्रमणबाट विकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी निरीक्षक राजु अधिकारीले जानकारी दिए । उनले भने, “घर भन्दा एक हजार पाँच सय मिटर टाढा फुपु दिदीको घर जाने क्रममा चितुवाले आक्रमण गरेको रहेछ ।”
इलाका प्रहरी कार्यालय भानुका प्रहरी निरीक्षक सहितको टोली घटनास्थल पुगिसकेको प्रहरी निरीक्षक अधिकारीले बताए ।
डिभिजन वन कार्यालयले घटनास्थल वरपर सबै सतर्क भई सुरक्षित रहन आग्रह गरेकाे छ ।
तनहुँमा पछिल्लो केही वर्ष यता चितुवाको आक्रमणबाट बालबालिकाको मृत्यु भएको छ । भानु, बन्दीपुर, आँबुखैरेनीमा चितुवाको आतङ्क छ ।