काठमाडौं, २ वैशाख । आज बसेको मन्त्रिपरिषद् बैठकले १२ वैशाखमा बस्ने गरी बजेटको अधिवेशन आह्वान गर्न राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको हो ।
प्रधानमन्त्रीको सरकारीनिवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले वैशाख १२ शुक्रबार दिउँसो १ बजे बस्ने गरी बैठक आह्वान गर्न सिफारिस गर्ने निर्णय गरेको शिक्षामन्त्री विद्या भट्टराईले जानकारी दिइन् ।
आफ्ना माग पूरा गराउन काठमाडौंकेन्द्रित आन्दोलनमा रहेका शिक्षकहरूले विशेष अधिवेशन वा बजेट अधिवेशन बोलाएर भए पनि शिक्षा ऐन जारी गर्न दबाब दिइरहेका छन् ।
आजको मन्त्रिपरिषद्को बैठकका मुख्य निर्णयहरु :
१. संघीय संसदमा विचचाराधीन रहेको विद्यालय शिक्षा विधेयक यथासक्य पारित गर्ने समेतका प्रयोजनका लागि संघीय संसदको अधिवेशन आह्वान गरी सरकारको तर्फबाट सो विधेयक पारित गर्न आवश्यक समन्वय र सहजीकरण गर्ने, यसका लागि वैशाख १२ गते शुक्रबार दिउँसो १ बजे संघीय संसद बैठकको आह्वान गर्ने,
२. नेपाल शिक्षक महासंघले उठाएका मागहरुको यथोचित सम्बोधन गर्ने सम्बन्धमा संवाद निरन्तर रहेको र अझै संवाद गर्न सरकार संवेदनशील र गम्भीर रहेको छ । यथोचित मागको सम्बोधन गर्न सरकार तयार छ ।
३. नेपाल शिक्षक महासंघको आह्वानमा भइरहेको प्रदर्शनप्रति सरकारको गम्भीर ध्यानाकर्षण भएको छ । हाल विद्यार्थी भर्नाको समय एसइईको उत्तरपुुस्तिका परीक्षण एवं कक्षा १२ को राष्ट्रिय परीक्षा समेतको समय भएको अवस्था रहेकोले विरोध र प्रदर्शनका कार्यक्रम स्थगन गरी अभिभावक एवं विद्यार्थीको हितलाई मध्यनजर गरी सम्पूर्ण शिक्षकहरुलाई आआफ्नो कार्यथलोमा फर्किन अनुुरोध गर्ने ।
(शिक्षामन्त्री विद्या भट्टराईबाट जानकारी)