दमाैली, ४ वैशाख । तनहुँको बन्दीपुरमा सञ्चालित बन्दीपुर केबलकार एण्ड टुरिजम लिमिटेडले बन्दीपुर केबलकार उद्यमशील पत्रकारिता पुरस्कारका लागि तीन जना पत्रकार छनाेट गरेकाे छ ।
उद्यमशीलताको क्षेत्रमा कलम चलाएका पत्रकारहरुको छनोट गर्नको लागि सञ्चालक तारानाथ उपाध्यायको संयोजकत्वमा तीन सदस्य समिति गठन गरिएकाे थियाे । साे समितिले छनोटको मापदण्ड पूरा गरी पुरस्कार दिन योग्य पत्रकारहरु छनोट गरि कम्पनीको बोर्ड समक्ष सिफारिस गरेकाे छ ।
उक्त पुरस्कार नेपाल पत्रकार महासङ्घका पूर्व अध्यक्ष एवं लोकवाणी दैनिकका सम्पादक प्रकाशचन्द्र भट्टराई, नेपाल पत्रकार महासङ्घ तनहुँका अध्यक्ष एवं रेडियाे बन्दीपुरका स्टेशन म्यानेजर धनपति अधिकारी र महासंघका पूर्व उपाध्यक्ष एवं जनचाहना डटकमका कार्यकारी सम्पादक सानेबहादुर नेपालीलाई प्रदान गरिने भएकाे छ । उक्त पुरस्कारको राशी नगद रु ५१ हजार रहेको छ ।
तनहुँ जिल्लाको पर्यटन विकास र उद्यमशिलता प्रबद्र्धनको क्षेत्रमा कलम चलाई योगदान गरे बापत तीन जना पत्रकारहरुलाई पुरस्कृत गर्न लागिएको हो ।
कम्पनीको आगामी वैशाख ६ गते शनिबार हुने चौथो साधारणसभामा उनीहरुलाई पुरस्कार राशी र दोसल्ला एवं सम्मानपत्रले सम्मान गर्ने निर्णय भएको कम्पनीका अध्यक्ष रामचन्द्र शर्माले जानकारी दिए ।
प्रत्येक वर्ष साधारण सभाको अवसरमा कम्पनीले यस प्रकारको पुरस्कारले पत्रकारहरुलाई सम्मान गर्दै आइरहेको छ ।
कम्पनीले पहिलो पुरस्कार राष्ट्रिय समाचार समितिका दमौली समाचारदाता कृष्ण न्यौपानेलाई रु एक लाख राशीले पुरस्कृत गरेको थियो । त्यस्तै पत्रकार मदन वाग्ले, सुनिता आचार्य, सविना कार्की, दुर्गाप्रसाद शर्मा रु ५१ हजार राशीले पुरस्कृत भइसकेका छन् ।
बन्दीपुरहिल गुरुयोजना नाम दिएको यस परियोजनाको १५ प्रतिशत हिस्सा सञ्चालनमा आइसकेको र दुई वर्षभित्र समग्र बन्दीपुरहिल रु छ अर्ब २९ करोडको गुरुयोजनालाई पूर्णता दिइने जनाइएको छ ।