दमौली, ५ वैशाख । मुग्लिन पोखरा सडक विस्तार अन्तर्गत तनहुँ सदरमुकाम दमौली बजारमा कालोपत्रको कामले तीव्रता पाएको छ ।
तनहुँ सदरमुकाम दमौलीस्थित व्यास नगरपालिका–२ बागबजार, मुख्यचोक, सफासडक चोकदेखि तरकारी लाइनसम्मको खण्डमा कालोपत्रलाई अगाडी बढाइएको हो । चालु आर्थिक वर्षभित्रै दमौली खण्डको कालोपत्र सम्पन्न गर्ने गरी काम अगाडी बढाइएको मुग्लिन पोखरा सडक योजना (पूर्वी खण्ड) का इन्जिनियर विष्णुप्रसाद पाण्डेले जानकारी दिए ।
पाण्डेका अनुसार दमौलीस्थित मुख्यचोकमा एकतर्फी बिहीबार कालोपत्र गरिएको छ । त्यस्तै बागबजार खण्डमा बुधबार कालोपत्र गरिएको थियो । दमौलीकै दुर्गामन्दिरदेखि चापाघाटसम्म भने पुल निर्माणको ठेक्का पाएको कम्पनीले कालोपत्र गर्नेछ ।
पूर्वी खण्ड अन्तर्गत अन्य ठाउँमा कालोपत्रको काम लगभग सकिएको पनि दमौली बजारमा घरटहरा हटाउन ढिलाइ हुँदा काम सुस्त भएको थियो । पूर्वी खण्ड अन्तर्गत अब चार किलोमिटर मात्रै कालोपत्र गर्न बाँकी छ । त्यसमध्ये दमौली खण्डमा १.८ किलोमिटर कालोपत्रलाई अगाडी बढाइएको पाण्डेले जानकारी दिए ।
पूर्वी खण्ड अन्तर्गत सडकको काम ८२.९५ प्रतिशत सकिएको छ । त्यस्तै ५९.२५ प्रतिशत आर्थिक प्रगति भएको पाण्डेले जानकारी दिए । यो खण्डमा पहिलो तह अन्तर्गत ३८. ३१ किलोमिटर खण्डमा चार लेन र ०.२९ किलोमिटर खण्डमा दुई लेन सडक कालोपत्र भएको छ ।
त्यस्तै चार लेनतर्फ ३३.५६ र दुई लेनतर्फ ३.२ किलोमिटर दूरीमा अन्तिम कालोपत्र सकिएको छ । पाण्डेले भने, “हालसम्म कालोपत्र भएको खण्डलाई दुई लेनमा हिसाब गर्दा ७३.११ किलोमिटर दूरी कालोपत्र भएको छ ।”
पूर्वी खण्डमा विसं २०७७ माघ १७ गते सम्झौता भई २०७८ वैशाख २ गतेदेखि काम सुरु भएको थियो । पूर्वी खण्डको ठेक्का चाइना कम्युनिकेशन कन्स्ट्रक्सनले पाएको छ । विसं २०२६ सालमा रेखाङ्कन भएको सडकमा सवारीको चाप बढ्दै गएपछि एसियाली विकास बैङ्क (एडीबी)को ऋण सहयोगमा सडक चार लेनको बनाउन लागिएको हो । पूर्वी खण्डको ठेक्का रु छ अर्ब २१ करोड ३१ लाख १३ हजारमा लागेको छ ।