दमाैली, ८ वैशाख । तनहुँको सदरमुकामस्थित व्यास नगरपालिका आगामी आर्थिक वर्ष २०८२÷८३ को बजेट तर्जुमामा जुटेको छ । नगरपालिकाले आगामी वर्षको बजेट तर्जुमा सम्बन्धी कार्यतालिका तय गरेको छ ।
नगरप्रमुख वैकुण्ठ न्यौपानेको अध्यक्षतामा आइतबार बसेको कार्यपालिकाको बैठकले आगामी वर्षका लागि वडागत बस्ती स्तरबाट योजना छनोट प्रक्रिया वैशाख महिनाभर सञ्चालन गर्ने निर्णय गरेको छ ।
वडाहरूबाट योजना तर्जुमा गरी जेठ १५ गतेभित्र नगरपालिकामा पेश गर्ने निर्णय भएको नगरपालिकाका प्रवक्ता सुरेश थापाले जानकारी दिए। त्यस्तै सबै प्रतिनिधि, राजनीतिक दलका प्रतिनिधि र विज्ञहरुसहितको पूर्व बजेट तयारी बैठक आगामी जेठ ७ गते आयोजना गरिएको उनले बताए ।
वडाहरूवाट प्राप्त योजनाहरू, शाखागत र विषयगत समितिले प्रस्ताव गरेका कार्यक्रमहरुको योजना शाखाबाट एकीकृत प्रस्ताव तयार जेठ मसान्तभित्र गरिने थापाले बताए।
बजेट तर्जुमा समितिबाट प्रस्तावित बजेट कार्यक्रमको कार्यपालिकामा छलफल र पारित असार ६ गतेसम्म भइसक्ने निर्णय बैठकले गरेको छ । असार १० गते नगरसभामा नीति कार्यक्रम प्रस्तुत तथा बजेट कार्यक्रम प्रस्ताव हुनेछ ।
यस्तै कार्यपालिका बैठकले व्यास नगरपालिका कभर्डहल सञ्चालन कार्यविधि–२०८२ र व्यास नगरपालिका अटोरिक्सा सञ्चालन तथा व्यवस्थापन कार्यविधि–२०८२ संशोधन सहित पारित गरेको छ ।