मुग्लिन पोखरा सडक : बागबजारमा दोस्रो चरणको कालोपत्र
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    मुग्लिन पोखरा सडक : बागबजारमा दोस्रो चरणको कालोपत्र

    खबरपुञ्ज संवाददाता

    १२ बैशाख २०८२, शनिबार

    दमौली, १३ वैशाख । मुग्लिन पोखरा सडक विस्तारअन्तर्गत तनहुँको सदरमुकाम दमौलीको बागबजार खण्डमा दोस्रो चरणको कालोपत्र शुरू भएको छ ।

    यसअघि पहिलो चरणको कालोपत्र भएको थियो । दमौली बजारकै मुख्यचोक, सफा सडक चोक र तरकारी लाइन चोकमा पहिलो चरणको कालोपत्र भइसकेको छ ।

    दमौली बजारमा अहिले एकतर्फी कालोपत्रको काम चलिरहेको मुग्लिन पोखरा सडक योजना पूर्वी खण्डका इन्जिनियर विष्णुप्रसाद पाण्डेले जानकारी दिए ।

    पूर्वी खण्डका अन्य ठाउँमा कालोपत्रको काम अन्तिम चरणमा पुगेपनि दमौली खण्डमा घरटहरा हटाउन ढिलाइ हुँदा काममा ढिलाइ भएको थियो । यो खण्डको काम ८२ दशमलव ९५ प्रतिशत सकिएको आयोजनाले जनाएको छ । चार लेनतर्फ ३३ दशमलव ५६ र दुई लेनतर्फ ३ दशमलव २ किलोमिटर दूरीमा अन्तिम कालोपत्र सकिएको छ ।

    पूर्वी खण्डमा २०७७ माघ १७ गते सम्झौता भई २०७८ वैशाख २ गतेदेखि काम शुरू भएको थियो । पूर्वी खण्डको ठेक्का चाइना कम्युनिकेशन कन्स्ट्रक्सनले पाएको छ ।

    २०२६ सालमा रेखाङ्कन भएको सडकमा गाडीको चाप बढ्दै गएपछि एशियाली विकास बैङ्क (एडीबी)को ऋण सहयोगमा सडक चार लेनको बनाउन लागिएको हो । पूर्वी खण्डको ठेक्का ६ अर्ब २१ करोड ३१ लाख १३ हजारमा लागेको हो ।