सचेतनाले पनि रोकिएन तनहुँमा डढेलो लगाउने क्रम
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    सचेतनाले पनि रोकिएन तनहुँमा डढेलो लगाउने क्रम

    खबरपुञ्ज संवाददाता

    १७ बैशाख २०८२, बिहीबार

    दमौली, १८ वैशाख । तनहुँ जिल्लाका एक सय ६२ हेक्टर वन क्षेत्रमा डढेलो लागेको छ । चालु आर्थिक वर्षको चैत महिनादेखि यता उक्त क्षेत्र वनमा डढेलो लागेको हो ।

    जिल्लास्थित विभिन्न ठाउँका १२ सामुदायिक वनमा डढेलो लागेको डिभिजन वन कार्यालय तनहुँका सूचना अधिकारी सहायक वन अधिकृत राजकुमार श्रेष्ठले जानकारी दिए । उनले भने, “डढेलो लागेको क्षेत्रको विवरण सव डिभिजन कार्यालयमार्फत् एकीकृत गर्दैछौ । यो भन्दा बढी क्षेत्रफलमा डढेलो लागेको सूचना छ, एकिन विवरण आउन बाँकी छ ।”

    वनमा डढेलो लगाउनु हुँदैन भनेर जिल्लास्थित दशवटै पालिकामा पुगेर सचेतनामूलक कार्यक्रम गरिएपनि डढेलो लाग्ने क्रम नरोकिएको श्रेष्ठको भनाइ छ । उनले भने, “स्थानीय तहको सहयोगमा सामुदायिक वनका पदाधिकारी र सदस्य राखेर सचेतना फैलाउने काम गरियो, तर वर्षैपिच्छे डढेलो रोक्ने क्रम घटेको छैन ।”

    जिल्लाका८२ हजार ५ सय ४९ हेक्टर क्षेत्रफल वनले ओगटेको छ । जिल्लाका दश वटा स्थानीय तहमा ६ सय १६ सामुदायिक वन, चार सय ८५ कबुलियती वन, ६ धार्मिक वन रहेका छन् । डढेलो लगाउनेलाई कानूनी कारवाहीको प्रावधान रहेपनि पहिचान गर्न कठिनाइ हुँदै आएको कार्यालयले जनाएको छ । गर्मीयाम सुरु भएसँगै यहाँका सामुदायिक वनमा डढेलोको क्रम बढेको श्रेष्ठको भनाइ छ ।

    श्रेष्ठका अनुसार सर्वसाधारणले घर नजिकैको पातपतिङ्गर सफा गर्न डढेलो लगाइदिने र सोही डढेलो वन क्षेत्रमा सल्किने गरेको छ । मानिसहरुले घर नजिकैको स्थानमा गाईबाख्राका लागि घाँस पलाउँछ भन्दै आगो लगाइदिने गरेका छन् । सोही आगो नजिकको वनमा सल्किदा डढेलोको रुप लिने गरेको छ ।

    वन डढेलोले कम्तिमा दश प्रतिशत तापक्रम बढाउने बताइएको छ । वनमा डढेलो लगाउने कार्य गम्भीर अपराध मानी फौजदारी कसुरमा राखिएको छ । डिभिजन वन कार्यालयले जिल्लाका आठ वटै सव डिभिजनमार्फत् वन डढेलो सचेतना कार्यक्रम सञ्चालन गरिरहेको छ ।