दमौली, १८ वैशाख । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले जिपी कोइराला श्वासप्रश्वास उपचार केन्द्रलाई श्वासप्रश्वासको विशिष्टिकृत अस्पताल बनाउन लागिएको बताएका छन्।
तनहुँको शुक्लागण्डकी नगरपालिका–५ बेलचौतारास्थित जिपी कोइराला श्वासप्रश्वास उपचार केन्द्रमा स्थापना गरिएको जिपी लायन्स डायलासिस केन्द्रको बिहीबार उद्घाटन गर्दै मन्त्री पौडेलले यो अस्पताललाई विशिष्टिकृत अस्पताल बनाउन सकिए नेपाल बाहिरबाट पनि उपचारका लागि मानिसहरु आउने बताए ।
विशिष्टिकृत उपचार गर्ने अस्पतालमा नेपालमा यो बाहेक अर्को नभएको बताउँदै मन्त्री पौडेलले यो अस्पताललाई त्यस ढङ्गबाट विकास गर्नुपर्ने आवश्यकता रहेको मन्त्री पौडेलको भनाइ छ । मन्त्री पौडेलले तनहुँलाई चिनाउने विषय भनेको जिपी कोइराला श्वासप्रश्वास उपचार केन्द्र भएको बताए ।
मन्त्री पौडेलले डायलासिस उपचार सेवा बापत अस्पतालले सरकारबाट रु दुई हजार पाँच सय अनुदान प्राप्त गर्ने बताउनुभयो । नेपालको स्वास्थ्य क्षेत्रमा लायन्स क्लवले ठूलो सहयोग गरेको भन्दै सामाजिक उत्तरदायित्वमा क्लवको भूमिका प्रशंसनीय रहेको उल्लेख गरे । अस्पताललाई तीन सय शय्या क्षमताको अस्पताल विस्तार गर्न लागिएको मन्त्री पौडेलले बताए ।
मन्त्री पौडेलले दमौली अस्पतालको स्तरोन्नतिका लागि पनि आफूले पहल गरिरहेको उल्लेख गरे । अस्पताललाई पचास शय्यामा स्तरोन्नति गर्न आवश्यक सबै प्रक्रिया पूरा गरेर मन्त्रिपरिषद्मा प्रस्ताव लगिने उनको भनाइ थियो ।
अस्पतालका फार्मेसीमा औषधी छैन भन्न नपाइने भन्दै त्यस्तो कार्य गरेको भेटिए कारवाही गरिने मन्त्री पौडेलले बताए । मन्त्री पौडेलले स्वास्थ्य क्षेत्र सुधारमा आफू क्रियाशील रहेको बताए ।
डायलासिस केन्द्र स्थापनाका लागि लायन्स क्लव इन्टरनेशनल ३२५ एल नेपालले सहयोग गरेको हो । त्यस्तै केन्द्र सञ्चालनका लागि शुक्लागण्डकी नगरपालिका, भिमाद नगरपालिका र म्याग्दे गाउँपालिकाले आर्थिक सहयोग गरेको छ ।
यस भेगमा डायलासिस केन्द्र नभएकाले मिर्गौलाका बिरामीलाई उपचार लिन दमौली वा अन्यत्रै जानुपर्ने बाध्यता थियो । अन्यत्र जाँदा पनि पालो कुर्नुपर्ने अवस्था भएकाले जिपीमा डायलासिस केन्द्र स्थापनाका लागि लायन्सले सहयोग गरेको लायन्स इन्टरनेशनल ३२५ एल नेपालका क्याविनेट सचिव सुजित हिराचनले जानकारी दिए ।
केन्द्रमा सेवा लिनका लागि ३० जना बिरामीले नाम दर्ता गराइसकेको केन्द्रका कार्यकारी निर्देशक डा. रामकुमार श्रेष्ठले जानकारी दिए। उपचार केन्द्रमा सात वटा उपकरण जडान गरिएको छ । डायलासिस सञ्चालनका लागि चार जना नर्सलाई तालिम दिइसकिएको छ ।
दक्षिण एसियाकै उत्कृष्ट श्वासप्रश्वास उपचार केन्द्रको रुपमा स्थापना गर्न सरकारले पूर्व प्रधानमन्त्री स्व.गिरीजाप्रसाद कोइरालाको नाममा राष्ट्रिय स्तरको श्वासप्रश्वास उपचार केन्द्र स्थापना गर्ने निर्णय गरेको थियो । सोही अनुसार शुक्लागण्डकी नगरपालिकाको बेलचौतारामा सात सय ४० रोपनी जग्गा उपचार केन्द्रको नाममा प्रदान भइसकेको छ ।
अस्पतालमा तनहँुको शुक्लागण्डकी नगरपालिका, भीमाद नगरपालिका, म्याग्दे गाउँपालिका, रिसिङ गाउँपालिका सहित स्याङजा, पाल्पा र नवलपरासी जिल्लाका केही गाउँपालिकाका जनता पनि सेवा लिन आउँछन् ।
अस्पतालले विशेषज्ञ चिकित्सकबाट हाडजोर्नी तथा नशारोग, जनरल सर्जरी, इन्टरनल मेडिसिन सेवा प्रदान गरिरहेको छ । त्यसबाहेक अस्पतालले केही समय अगाडीबाट कल्चर सेवा पनि सुरु गरेको छ । अस्पतालमा ओपिडी सेवा, चौबिसै घण्टा इमर्जेन्सी सेवा, ल्याव, भिडियो एक्सरे सेवा, माइनर अप्रेशन लगायतका सेवा दिइरहेको छ । अस्पतालले श्वासप्रश्वासको उपचार सेवा पनि सुरु गरिसकेको छ । अस्पतालमा दैनिक दुई सय ५० भन्दा बिरामी उपचारका लागि आउने गरेका छन् । त्यसमध्ये ४०÷५० जना बिरामी श्वासप्रश्वासका रहेको अस्पतालले जनाएको छ ।