आम निर्वाचनको झल्को दिने गरी तालवेशीमा नायक र सहनायक छनोट
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    आम निर्वाचनको झल्को दिने गरी तालवेशीमा नायक र सहनायक छनोट

    खबरपुञ्ज संवाददाता

    २६ बैशाख २०८२, शनिबार

    दमौली, २७ वैशाख । तनहुँको शुक्लागण्डकी नगरपालिका-९ स्थित तालवेशी माध्यमिक विद्यालयमा आम निर्वाचनको झल्को दिने गरी मतदान मार्फत् नायक र सहनायक छनोट गरिएको छ ।

    विद्यार्थीलाई मतदाता शिक्षा दिनलाई शुक्रबार मतदान प्रक्रियाबाटै विद्यालय नायक र सहनायक छनोट गरेको हो । 

    चुनावी मैदानमा नायकका लागि दुई र सहनायकमा तीन जना प्रतिस्पर्धी थिए । कक्षा ३ देखि १० सम्मका तीन सय नौ जना मतदानमा सहभागी भए ।

    विद्यालय नायकमा लालीगुराँस चिह्न लिएर निर्वाचनमा होमिएका रितेश क्षेत्री दुई सय ११ मतसहित निर्वाचित भए । उनका प्रतिस्पर्धी सगरमाथा चिह्न लिएका सौरभ थापाले ९६ मत पाए । दुई मत बदर भएको थियो ।

    विद्यालय सहनायकमा गैंडा चुनाव चिह्न लिएर उठेकी प्रतिक्षा पाठक दुई सय मतसहित निर्वाचित भइन् । सहनायकमा हात्ती चुनाव चिह्न लिएकी निलम गुरुङले ७७ र गाइ चिह्न पाएकी काजल केसीले २८ मत पाइन् ।

    निर्वाचनमा मतदान अधिकृत, सहायक मतदान अधिकृत, सुरक्षाकर्मी, कर्मचारी सबैको भूमिका कक्षा ११ का विद्यार्थीले निभाएका थिए। ।

    विद्यार्थीले इच्छाएको व्यक्तिलाई नायक चयन गर्नलाई मतदान प्रक्रिया भएको विद्यालयका अतिरिक्त क्रियाकलाप संयोजकसमेत रहेका शिक्षक दामोदर रेग्मीले बताए । रेग्मीका अनुसार नेतृत्व विकाससँगै चयनका लागि गतवर्षदेखि मतदान प्रक्रिया अपनाइएको हो ।

    सामाजिक शिक्षामा भएको सैद्धान्तिक विषयलाई प्रयोगात्मक तरिकाले प्रस्तुत गरेको शिक्षक सुवास चापागाईंले बताए ।