दमौली, २८ वैशाख । तनहुँको ऑबुखैरेनीमा ‘घर-घरमा प्रहरी’ अभियान सुरु भएको छ। इलाका प्रहरी कार्यालय ऑबुखैरेनीले आइतबारदेखि उक्त अभियान सुरु गरेको हो ।
ऑबुखैरेनी बजार क्षेत्रमा नेपाल प्रहरीको सम्पर्क विवरण, क्यूआर कोड तथा सेवा उपयोग गर्ने तरिका उल्लेख गरिएको स्टीकर टाँस्ने अभियान सुरु भएको छ । यस अभियानको उद्धेश्य समुदायमा शान्ति सुरक्षा सम्बन्धी अवस्था बुझ्नुका साथै आम सर्वसाधारणसँग प्रत्यक्ष रूपमा सम्पर्क स्थापना गरी प्रहरी प्रतिको धारणा, गुनासो र सुझावहरू संकलन गर्नु रहेको प्रहरी निरीक्षक टेकप्रसाद सुवेदीले जानकारी दिए ।
अभियान शुभारम्भका क्रममा आँबुखैरेनी गाउँपालिकाका अध्यक्ष शुक्र चुमान, ऑबुखैरेनी गाउँपालिका-३ का अध्यक्ष दिनेश केसी., वडा सदस्य मनोज कुमार श्रेष्ठको सहभागिता थियो ।
प्रत्येक घरमा टाँसिने स्टीकरमा उल्लेख गरिएको क्यूआर कोड स्क्यान गरी नागरिकहरूले प्रहरी सेवासँग सजिलै सम्पर्क गर्न सक्ने साथै आफ्ना गुनासा तथा सुझावहरू समेत सहज रूपमा पठाउन सक्ने प्रहरी निरीक्षक सुवेदीले जानकारी दिए ।
उनले भने, ‘समुदाय र प्रहरीबीचको विश्वास र सहकार्यको सुदृढीकरणका लागि उजागर गरिएको यो कदमलाई सफल बनाउन सबैको साथ र सहयोग अपेक्षित छ ।’