दमौली, ३० वैशाख । प्रादेशिक अस्पताल दमौलीमा रेबिज रोगविरुद्धको खोप अभाव भएपछि सेवाग्राही मर्कामा परेका छन् ।
सरकारले निःशुल्क उपलब्ध गराउँदै आएको खोप एक महिनाअघिदेखि नहुँदा सेवाग्राही चर्को मूल्य तिरेर निजी मेडिकलमा धाउन बाध्य भएको अस्पतालका प्रमुख मेडिकल सुपरिन्टेन्डेन्ट डा परिवर्तन बरालले बताए ।
उनले भने, “अस्पतालबाट निःशुल्क पाउने औषधिको रु छ सयभन्दा बढी मूल्य तिर्नुपरेको छ । प्रदेश आपूर्ति केन्द्रलाई पाँच सय डोज खोप माग गरिएकामा ४० वटामात्रै उपलब्ध गराइएकाले समस्या भएको हो ।”
डा बरालका अनुसार कुकरले टोकेपछि तीनवटा रेबिजविरुद्धको खोप लगाउनुपर्ने हुन्छ । यहाँ प्रदेश आपूर्ति केन्द्र र नेपाल सरकार स्वास्थ्य मन्त्रालय, इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाबाट खोप आउने गरेको छ ।
निजी मेडिकल व्यवसायीले भने खोप पर्याप्त मात्रामा रहेको रु छ सय ३५ मा सेवाग्राहीलाई उपलव्ध गराइने गरेको बताउने गरेका छन् ।