


तनहुँ, १९ कात्तिक । तनहुँ जलविद्युत आयोजनाबाट प्रभावित परिवारका सदस्यहरूको आयआर्जन क्षमता अभिवृद्धि गरी दिगो जीविकोपार्जनका अवसर सिर्जना गर्ने उद्धेश्यले व्यावसायिक बाख्रापालन तथा वित्तीय साक्षरतासम्बन्धी तालिम सञ्चालन गरिएको छ ।
आयोजनाको जीविकोपार्जन पुनस्र्थापना योजनाअन्तर्गत आयोजना प्रभावित व्यास तथा भिमाद नगरपालिका र म्याग्दे तथा ऋषिङ गाउँपालिकाका २२ जनालाई व्यावसायिक बाख्रापालन तालिम प्रदान गरिएको हो ।
भेटेरिनरी अस्पताल तथा पशु सेवा कार्यालय, तनहुँसँगको सहकार्यमा सञ्चालित तालिममा सम्बन्धित क्षेत्रका विज्ञहरूबाट बाख्रापालनको व्यावसायिक व्यवस्थापन, पशु स्वास्थ्य तथा हेरचाह, आयआर्जनका सम्भावना र वित्तीय व्यवस्थापनका विषयमा प्रशिक्षण दिइएको थियो ।
बुधबार आयोजित तालिम समापन कार्यक्रममा सहभागीहरूलाई प्रमाणपत्रका साथै बाख्रापालनका लागि आवश्यक उपकरण तथा सामग्रीहरू उपलब्ध गराइएको थियो । परम्परागत रूपमा बाख्रापालन गर्दै आएका सहभागीहरूबाट तालिमबाट व्यवसायलाई व्यावसायिक र व्यवस्थित रूपमा सञ्चालन गर्न आवश्यक ज्ञान तथा सीप हासिल भएको बताइएको थियो ।
आयोजनाले प्रभावित परिवारहरूको जीविकोपार्जन पुनस्र्थापना तथा सामुदायिक विकासलाई प्राथमिकतामा राख्दै हालसम्म ३८ वटा कार्यक्रम सञ्चालन गरिसकेको आयोजना प्रमुख श्यामजी भण्डारीले बताए । ती कार्यक्रमबाट आयोजना प्रभावित परिवारका कुल ७७६ जना (४०१ महिला र ३७५ पुरुष) लाभान्वित भएका छन् । आयोजनाबाट इलेक्ट्रिसियन, प्लम्बिङ, सिलाइकटाइ, मौरीपालन, बाख्रापालन, बङ्गुरपालन, तरकारी खेती, निर्वाहमुखी कृषि तथा हलुका सवारी चालकसम्बन्धी तालिमलगायतका विभिन्न सीप विकास कार्यक्रम सञ्चालन गरिसकिएको छ ।
आयोजनाको जीविकोपार्जन पुनस्र्थापना योजनाअनुरूप प्रभावित परिवारको सीप विकास, आयआर्जनका अवसर विस्तार, वित्तीय साक्षरता तथा उद्यमशीलता प्रवद्र्धनमार्फत आर्थिक आत्मनिर्भरता र दिगो जीविकोपार्जन सुनिश्चित गर्ने कार्यक्रमलाई निरन्तरता दिइएको छ ।