दमाैली, ५ जेठ । मुग्लिन पोखरा सडक विस्तार अन्तर्गत दमौलीको मुख्यचोकमा धुलोले समस्या भएको भन्दै स्थानीयवासीले साेमबार केहीबेर राजमार्ग अवरोध गरेका छन् । सडक विस्तारका क्रममा धुलोले समस्या भएको र निर्माण पक्षले पानी नहालेको भन्दै सफासडकका स्थानीयवासीले आधा घण्टा राजमार्ग अवरोध गरेका हुन् ।
दमौली खण्डमा कालोपत्रको काम सुरु भएपनि कच्ची बाटोको माटो कालोपत्र सडकमा आएर घाम लाग्दा धुलोले सास्ती हुने गरेको स्थानीय बताउँछन् ।
मुग्लिन पोखरा सडक विस्तार अन्तर्गत दमौलीको बागबजार, भोर्लेटार, तरकारी लाइन अगाडी केही खण्ड कालोपत्र भएको छ । दमौली बजारमा करिब १.८ किलोमिटर मात्रै कालोपत्र गर्न बाँकी छ ।