दमाैली, ६ जेठ । पृथ्वीराजमार्ग अन्तर्गत तनहुँको बन्दीपुर गाउँपालिका–४ गोरेचौतारा नजिक आज बिहान बस र टिप्पर ठोक्किदा सात जना घाइते भएका छन् ।
रुकुम–पश्चिमबाट काठमाडौ तर्फ जादै गरेको प्रदेश १–०१–००१ ख ४१५२ नम्बरको बस र विपरित दिशाबाट आउदै गरेको बा.प्र.०१–००१ अ–यो ००२७ नम्बरको टिप्पर ठोक्किदा बसमा सवार छ र टिप्परका चालक सहित सात जना घाइते भएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।
घाइते हुनेहरुमा रुकुम पश्चिम बाँकेकोट गाउँपालिका–७ बस्ने बर्ष ४९ वर्षीय हरिसचन्द्र खत्री, मुसीकोट नगरपालिका–६ बस्ने ३५ वर्षीय चन्द्रबहादुर रावल, सानीभेरी नगरपालिका–४ बस्ने १७ वर्षीया विन्दु ओली, सोही ठाउँ बस्ने ५० वर्षीय भद्रबहादुर ओली, रुकुम पश्चिमका ३५ वर्षीया शर्मिला पाण्डे, बस चालक नुवाकोट मेघा नगरपालिका–५ बस्ने ३० वर्षीय संजोग नेपाली र टिप्पर चालक तनहुँको भानु नगरपालिका–१२ कवाचित बस्ने ४४ वर्षीय शङ्कर नेपाली रहेका छन् ।
घाइतेमध्ये हरिसचन्द्र खत्रीलाई थप उपचारका लागि चितवन मेडिकल कलेज पठाइएको र बाँकी घाइतेको डुम्रेस्थित लक्ष्मी अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरिक्षक अशोक थापाले जानकारी दिए ।