दमाैली, ८ जेठ । तनहुँको आँबुखैरेनी गाउँपालिका–४ बेनीटारबाट अवैध हतियार सहित दुई जनालाई प्रहरीले बिहीबार पक्राउ गरेको छ । पक्राउ पर्नेमा नवलपरासी (बर्दघाट सुस्ता पूर्व) गैडाकोट नगरपालिका–१२ बस्ने २५ वर्षीय मिलन ढकाल र चितवनको माडी नगरपालिका–७ बस्ने ३२ वर्षीय विजय तिवारी रहेको इलाका प्रहरी कार्यालय आँबुखैरेनीले जनाएको छ ।
प्रहरीले निजहरुको साथबाट स्पेशल मेड इन युएसए ७७१ लेखिएको एक थान पेस्तोल, एक थान म्याग्जिन र एक थान गोली बरामद गरेको प्रहरी निरीक्षक टेकप्रसाद सुवेदीले जानकारी दिए ।
मुलिनबाट आँबुखैरेनीतर्फ आउँदै गरेको ना २८ प १५१९ नम्बरको मोटरसाइकल जाँच गर्ने क्रममा ढकालले भिरेको झोलाभित्र लुकाएर ल्याएको अवस्थामा पेस्तोल फेला परेको थियो । पक्राउ परेका दुवै जनालाई नियन्त्रणमा लिई कार्यालयबाट थप अनुसन्धान भइरहेको प्रहरी निरीक्षक सुवेदीले बताए ।