जनताका असन्तुष्टि सम्बोधन गर्दै जानुपर्छ : प्रवक्ता महत
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    जनताका असन्तुष्टि सम्बोधन गर्दै जानुपर्छ : प्रवक्ता महत

    खबरपुञ्ज संवाददाता

    ८ जेष्ठ २०८२, बिहीबार

    दमाैली, ८ जेठ । नेपाली काङ्ग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले जनतामा बढ्दै गएको असन्तुष्टि सम्बोधन गर्न कार्यशैली सुधार गर्नुपर्ने बताएका छन् । नेपाली काङ्ग्रेस तनहुँ जिल्ला कार्यसमितिले आज दमौलीमा आयोजना गरेको अन्तरसंवाद कार्यक्रममा बोल्दै जनतामा गुनासा र असन्तुष्टि बढ्दै गएकाले जनताका असन्तुष्टि सम्बोधन गर्नुपर्ने बताए।

    प्रवक्ता महतले भने, “जनतामा असन्तुष्टि छ, गुनासा छन् । त्यसलाई सम्बोधन गर्न हामी सबैले कार्यशैली सच्याउनुपर्छ । केही भएन मात्रै भन्ने गलत प्रचार गरिएको छ ।” प्रवक्ता महतले सामाजिक सञ्जालको गलत प्रयोगका कारण पनि नकारात्मकताले बढी प्रश्रय पाएको बताउँदै सामाजिक सञ्जालको सही प्रयोग गर्नुपर्ने बताए।

    अन्य दलभन्दा काङ्ग्रेसभित्र पनि सुधारको आवश्यकता औंल्याए । पार्टीभित्रका गलत कमजोरीलाई सुधार्न आवश्यक रहेको भन्दै केन्द्रदेखि तलसम्म सुधारको खाँचो रहेको उनको भनाइ थियो । पार्टीलाई एकढिक्का बनाउन नेता तथा कार्यकर्ता लाग्नुपर्नेमा उनकाे जोड थियो ।

    अन्य दलको तुलनामा नेपाली काङ्ग्रेस राम्रो रहेको बताउँदै पार्टी बलियो बनाउन सकारात्मक चिन्तनको आवश्यकता रहेको उनले बताए । उनले भने, “पार्टीका नेताहरुले पनि जनतामाझ सकारात्मक कुराहरुको प्रचारप्रसार गर्नुपर्छ ।”

    कार्यक्रममा नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य धु्रव वाग्लेले जनप्रतिनिधि र नेताहरुको कार्यशैलीका कारण जनताले आवाज उठाउन थालेको बताउँदै जनताका असन्तुष्टि सम्बोधन हुने गरी काम गर्नुपर्नेमा जोड दिए।