दमौली, ८ जेठ । मर्स्याङ्दी जलविद्युत परियोजनाबाट प्रभावित आँबुखैरेनी गाउँपालिका–१ अन्तर्गतको सत्रसय बरादी क्षेत्रमा लगातार विद्युत आपूर्ति अवरुद्ध हुँदा स्थानीयहरू आक्रोशित भएका छन्।
विद्युत आपूर्तिमा देखिएको अनियमितताले उद्योग, कलकारखाना तथा सर्वसाधारण उपभोक्ताहरूलाई गम्भीर असर पुर्याएको भन्दै उनीहरूले विद्युत प्राधिकरणलाई सात दिने अल्टिमेटम दिएका छन्।
उनीहरुले नेपाल विद्युत प्राधिकरण आँबुखैरेनी प्रशारण शाखा केन्द्रका प्रमुख राजवीर यादवलाई बिहीबार सो अल्टिमेटम पत्र बुझाएका हुन् ।
स्थानीय उपभोक्ताहरूले विद्युत प्राधिकरणको आँबुखैरेनीस्थित शाखा कार्यालयमा ज्ञापनपत्र बुझाउँदै लोडसेडिङ नहुने गरी विद्युत सेवा नियमित बनाउन माग गरेका छन्। साथै, सत्रसयदेखि डुम्रे सम्म संचालन गर्न लागिएको नयाँ विद्युत प्रसारण लाइनको कार्यले झन समस्या उत्पन्न हुने भन्दै सो कार्य तत्काल रोक्न आग्रह गरिएको छ।
“यदि ७ दिनभित्र माग सम्बोधन भएन भने उपभोक्ताहरू बाध्य भएर कार्यालयमा तालाबन्दी गर्नेसम्मका कदम चाल्नेछौं,” ज्ञापनपत्रमा उल्लेख छ।
स्थानीयहरूले विद्युत सेवा नियमित नहुँदा व्यवसाय, कृषि सिंचाइ, घरेलु उपकरण तथा दैनिक जनजीवन प्रभावित भएको गुनासो गरेका छन्। विद्युत प्राधिकरणले यस विषयमा चाँडो पहल नगरे समस्या झन जटिल हुने स्थानीयको चेतावनी छ।