दमौली, ११ जेठ । पृथ्वीराजमार्ग अन्तर्गत तनहुँको व्यास नगरपालिका–३ र ५ जोड्ने मादी नदी पुलबाट शनिबार राति ११ः३० बजे जिप खस्दा मृत्यु भएका तीन जनाको सनाखत भएको छ ।
मृत्यु हुनेमा व्यास नगरपालिका–५ पाटन बस्ने अन्दाजी २८ वर्षीय प्रविन आले मगर, सोही ठाउँ बस्ने २२ वर्षीय कुमार थापा र २२ वर्षीय कुशल थापा रहेको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी निरीक्षक राजु अधिकारीले जानकारी दिए । उनीहरुलाई प्रदेश अस्पताल दमौलीका चिकित्सकले मृत घोषणा गरेका हुन् ।
दुर्घटनामा जिप चालक व्यास नगरपालिका–४ बस्ने २५ वर्षीय रोहित गुप्ता र वीरगञ्ज घर भई दमौली बस्ने २० वर्षीय धिरज रौनियार घाइते भएका छन् । घाइतेमध्ये धिरजलाई थप उपचारका लागि पोखरा पठाइएको छ ।
दुर्घटनाका घाइतेलाई नेपाली सेनाको कालीभञ्जन गण (इ) का सेना र नेपाल प्रहरीले उद्धार गरेका थिए ।